नुवाकोट, साउन २– राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका अध्यक्ष झनकबहादुर प्याकुरेललाई राप्रपाले अध्यक्ष पदबाट बर्खास्त गरेको छ । जिल्लामा पार्टी एकीकरण अधिवेशन भएको साँढे दुई वर्षमै अध्यक्ष प्याकुरेललाई पार्टी नीति विपरीत काम गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पदबाट बर्खास्त गरेको जनाएको छ ।
पार्टी अध्यक्ष पशुपतिशमशेर जबराको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय समितिको बैठकले विधान २०४८ को दफा २७ ङ अनुसार राप्रपाको नुवाकोट अध्यक्षबाट प्याकुरेललाई बर्खास्त गरिएको जनाइएका् छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्याकुरेललाई बर्खास्त गरी कोषाध्यक्ष नरेन्द्रप्रसाद फुँयाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
पार्टीका सहायक महामन्त्री तथा सङ्गठन विभाग प्रमुख हेमजङ गुरुङद्वारा जारी विज्ञप्तिमा यसको जानकारी जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला विकास समितिको कार्यालयमा गराइएको छ ।
पार्टीको अनुशासन समितिले गत असार १८ गते अध्यक्ष प्याकुरेललाई कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।
वाणिज्य तथा आपूर्ती मन्त्री सुनीलबहादुर थापाले पठाएको राहत सामग्री वितरणमा जिल्ला अध्यक्ष प्याकुरेलले एकलौटी रूपमा निर्णय गरेको, १८ महिनादेखि पार्टीको जिल्ला कार्यसमितिको बैठक नगरेको, संस्थापन पक्षविरुद्ध गुटबन्दी गरेको, केन्द्रीय अध्यक्ष पशुपतिशमशेर जबराविरुद्ध आयोजित भेलामा सहभागी भएकोलगायत कारण देखाउँदै पार्टीको केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक बाबुराम पौडेलले लिखित स्पष्टीकरण मागेका थिए ।
अनुशासन समितिको स्पष्टीकरण मागेपछि डा प्रकाशचन्द्र लोहनी उनी पक्षधर नेता तथा कार्यकर्ताले स्पष्टीकरण नदिन अध्यक्ष प्याकुरेललाई निर्देशन दिएको बुझिएको छ । प्याकुरेलले पार्टीले विधानसम्मत मागेको स्पष्टीकरण नदिएका कारण उनीमाथि कारबाही भएको सो पार्टीले जनाएको छ ।
प्याकुरेलले भने आफूलाई कारबाही गर्ने अधिकार कसैलाई नभएको र आफू नै अध्यक्ष रहेको दाबी गरेका छन् ।
























Nepalese Rupee Exchange Rate