सपनाको
सहर लिस्बन पोर्तुगल, मनभरी अनगिन्ती चाहना र परिवारको सुखद भविष्यको
कामना गर्दै बैदेशिक रोजगारीको लक्ष्य बोकेर परदेश हान्निएका असंख्य
युवाहरुको लावा लस्कर देखेर लाग्दछ सानो सानो नेपाल नै यहाँ अटाएको छ । सन्
२०१५ को नोभेम्बर महिनासम्ममा रोजगार या अन्य कुराका सिलसिलामा पोर्तुगल
छिरेका नेपालीहरुको जनसंख्या करिब १७ हजारदेखि २० हजारको हाराहारीमा छ ।
जुनसंख्या अत्यधिक हो । जसको मुख्य कारण अरु देशको तुलनामा प्रशासनिक
दृष्टिले पोर्तुगल नेपालीहरुको लागि सहज छ ।
पोर्तुगल प्रवेश गरेको केहि महिनाभित्र नै कार्ड बन्ने लोभले गर्दापनि
नेपालीहरु त्यहाँ जान मन पराँउछन् । तसर्थ युरोपियन देशहरु मध्ये सबैभन्दा
अत्यधिक नेपालीको बसोवास भएको देश नै पोर्तुगल हो । रोजगारको सपना बुनेर
नेपालीहरु प्रत्येक दिन ५ देखि ७ जना नेपालीहरु बैधानिक या अवैधानिक रुपमा
पोर्तुगल प्रवेश गर्दछन् । जसको ब्यहोरा निम्नअनुसार छ ।
क) सेन्जेन वा भिजिट भिसामा डाईरेक्ट पोर्तुगल प्रवेश गर्नेहरु ।
ख) बेलायतबाट अवैधानिक रुपमा प्रवेश गर्नेहरु ।
ग) टर्कीबाट बिभिन्न देश हुँदै अबैधानिक रुपमा पोर्तुगल आउनेहरु ।
घ) नेपालबाट कृषि फर्ममा रोजगारको लागी पोर्तुगल प्रवेश गर्नेहरु ।
ङ) छिटफुट रसिया, साईप्रस, ईजरायल, जापान, तथा अन्य देशबाट अवैधानिक रुपमा पोर्तुगल प्रवेश गर्नेहरु ।
आखिर जे जस्तो तरिका अपनाएर पोर्तुगल छिरेपनि अधिकांश नेपालीहरु
शरणार्थी जीवन बिताउन बाध्य छन् । डलर र युरो कमाउने सपना बोकेर मनभरी
सुनौलो रहर अनि परिवारको सुखद भविष्यको कल्पना गर्दै दलाल वा अन्य
व्यक्तिको प्रलोभनमा परी परदेश छिरेको लगत्तै कष्टकर जीवन बिताउन पर्दा
भित्रभित्रै निराशा अनि कुण्ठाले डेरा जमाउन थाल्दछ । फलतः कोहि साहुको ऋण
तिर्न नसकेर आत्महत्या गर्न पुग्दछन् भने कोही मानसिक रुपले नै बिक्षीप्त
हुन्छन् । पोर्तुगलमा रहेका अधिकांश नेपालीहरुको अवस्था निकै कष्टकर र
दयनीय छ । देशमा रोजगार अभावका कारण दलालको रहरलाग्दा कुरा र प्रलोभनमा
परेर राम्रो नराम्रो केही पहिचान गर्न नसकी कतिपय परदेश हान्निन्छन् । तर
परदेश छिरिसकेपछि त्यसको बिपरित अवस्था भोग्नुपर्दा उनिहरुले सजाएका असंख्य
सपनाका महलहरु क्षणभरमै चकनाचुर
हुन्छन् ।
परिवारसँग बिछोडिनु परेको पीडा, रोजगारको अभाव, कष्टप्रद दैनिकी आदिले
गर्दा कोमल मनका धनी नेपाली दाजुभाईहरुलाई परदेशी जीवन 'निल्नु न ओकल्नु'को
अवस्था आउन थाल्दछ । जसको कारण नत उनीहरु नेपाल फर्किने मौका हुन्छ नत
छिटोभन्दा छिटो धन कमाएर साहुको ऋण तिर्न सक्दछन् ।उल्टो कागजी झन्झट,
खानेबस्ने समस्या लगायत अन्य समस्यामा फँस्न पुग्दछन् । दलालका मिठा र
चिल्ला कुरामा बहकिएर पोर्तुगल छिरेका नेपालीहरु मध्ये जनसंख्याको अनुपातमा
करिब एक हजार जना मध्ये नौ सय जनाको अवस्था अत्यन्त दयनिय छ । सय जना
मात्र युरोपमा राम्रोसँग सेटल हुन सफल भएका छन् ।
युरोपियन युनियनका २२ देखि २४ राष्ट्रहरुमध्ये कुनै एक देशमा आफ्नो
राहदानीमा सेन्जेन भिसा लगाउनासाथ युरोपियन देश जुनसुकै घुम्न पाउने र
प्रवेश गर्न पाउने सुविधा हुन्छ । फलत उक्त सुविधाको प्रलोभनमा परी कतिपय
नेपालीहरु पोर्तुुगल आएर बस्ने गर्दछन् । महिनौ महिनासम्म गैरकानुनी रुपमा
बस्दा आर्थिक अभावका कारण कतिपय नेपालीको हालत निकै दयनिय छ । बिना पैसा,
आफन्तजन र साथीभाई नभएको खण्डमा अत्यन्त कठिन परिस्थीतिको सामना गर्नुपर्ने
हुन जान्छ । तसर्थ हल्लाको भरमा पोर्तुगल छिर्नुभन्दा सोच बिचार गरेर
मात्र कदम अगाडि बढाउनु राम्रो हुन्छ । पोर्तुगल आएर नेपालीहरुले पाउने काम
भनेका कृषि, होटेल, रेस्टुरेन्ट मजदुरी नै हुन् । तर यो काम पनि सिमित
समयको लागि मात्र हुन्छ । नोभेम्बरदेखि फेबु्रअरीसम्म चिसोले गर्दा
प्रायजसो सबै कम्पनीहरु बन्द हुन्छन् । त्यसबेला सबैजसो नेपालीहरु कामबाट
बञ्चित हुन्छन् ।
दलाल वा अन्य ब्यक्तिहरुबाट प्रलोभनमा परेर पोर्तुगल प्रवेशका लागि
१२ देखि १५ लाख रुपैयाँ तिरेर लिथुआनिया, माल्टा जस्ता देशबाट स्टुडेन्ट
भिसा बनाएर पोर्तुगल आउनेको ठुलै जमात आजकल पोर्तुगलको राजधानी लिस्वनको
सहरमा छ्याप्छयाप्ती भेटिन्छन् । दलाललाई बुझाएको १५ लाख बाहेक अन्य
स्थानबाट पोर्तुगल आईपुग्दासम्म त १८ देखि २० लाख सम्म खर्च भईसकेको हुन्छ ।
यहाँसम्म आईपुग्दा वास्तविकता त्यसको विपरित हुन जान्छ । जसको फलस्वरुप धन
कमाउने र आफ्नो र परिवारको सपना पुरा गर्ने चाहना क्रमशः तुहिँदै जान्छ ।
रोजगारको अभाव, पारिवारिक चिन्ता आर्थिक बोझ, साहुको ऋणले सबैतिरबाट
एक्कासी किच्न थालेपछि बल्ल आँफु ठगिएको अनुभुती हुन्छ । तसर्थ जानेर बुझेर
मात्र बिदेश जाने निर्णय गर्नुपर्दछ । नत्र साहुको ऋण खप्टिएर तिर्नै
नसक्ने अवस्था हुनुका भनेजस्तो रोजगार नपाईनाले परदेशी जीवन 'चोक्टा खान
आएकी बुढी झोलमा डुबेर भरी' नहोला भन्न सकिँदैन ।
बेलायत वा अन्य देशबाट अवैधानिक बाटो हुँदै पोर्तुगल प्रवेश गर्ने
नेपालीहरुले त झनै समस्या झेल्नुपर्ने हुन जान्छ । बिभिन्न समस्या लिएर
एनआरएन अफिसमा प्रत्येक दिन ७ देखि १० जना बेलायतबाट पोर्तुगल छिरेका
नेपालीहरु सम्पर्कमा आईरहेका देखिन्छन् । उनिहरुलाई पोर्तुगल छिरेपछि नयाँ
पासपोर्ट बनाउने समस्या,उक्त देशको पुलिस रिपोर्टको समस्या लयायत अन्य
समस्याहरु आईपर्ने गरेका छन् । पासपोर्टमा युरोप प्रवेशको भिसा छैन भने
टिआरसी(टेम्पोररी रेसिडेन्स कार्ड)बन्न झण्डै २ देखि ३ बर्ष लाग्न सक्दछ ।
जसको कारण अवैधानिक प्रवेश गर्ने सोच या सेन्जेन भिसामा प्रवेश गर्ने भुल
नगर्नु नै बेस हुन्छ ।
टर्की लिथुआनिया माल्टा आदि देशबाट पोर्तुगल प्रवेश गर्ने
नेपालीहरुको संख्या दुइचारमहिना यता निकै देखिएको छ । नेपालमा खोलिएका
बिभिन्न कन्सल्टेन्सीलगायत अन्य संघ संस्थाहरुले यी मुलुकमा कार्यक्रम
गर्ने प्रलोभन देखाई वा अन्य बाहना बनाई पोर्तुगल प्रवेश गराउने भन्दै
प्रतिब्यक्ती १५ देखि १८ लाख रुपैयाँसम्म असुलेर ठगी गरेको पाईन्छ ।
यसबारेमा सरोकार निकाय वा नेपाल सरकारको ध्यान जान जरुरी देखिन्छ । युवा
जनशक्तिलाई बाहिर जानबाट रोकेर नेपालमै उचित रोजगारको ग्यारेन्टी सरकारी
पक्षबाट गर्न जरुरी छ । सरकारले ठोस रणनीति ल्याई दिन परदिन परदेशिएका
जनशक्तिको हकहितमा काम गर्न नसक्नु ठूलो दुर्भाग्य हो जसबाट युवा पुस्ता
राज्यको नीतिबाट उदासिन भई बिदेशिनुको साथै देश दिन परदिन विकराल अवस्थामा
गुज्रिदै गईरहेको छ ।
देशमा पर्याप्त रोजगारको कमी, घरको कमजोर आर्थिक
अवस्था, महंगी,गरिबीको कारण तमाम नेपाली युवा परदेशमा गएर पसिनाले पैसा
साटी परिवार पाल्ने आशामा परदेशिएका छन् । जसका ज्यान जोखिममा राखेर
जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पोर्तुगल प्रवेश गर्ने अवैधानिक
बाटाहरुमध्ये टर्की अत्यन्त खतरनाक बाटो हो । पोर्तुगल ल्याउन नेपालीलाई
बिभिन्न देशबाट फ्रान्स ल्याईन्छ । यसरी अवैधानिक रुपमा प्रवेश गर्नु भनेको
मृत्युको मुखबाट बाँचेर आउनु हो ।
नेपालबाटै कृषिको कामको लागि पोर्तुगल आउने नेपालीका लागि अन्यको
तुलनामा अलि सहज र राम्रो बाटो हो । जसबाट रोजगारको ग्यारेन्टी हुनुका साथै
पोर्तुगल प्रवेश गरेको ३ देखि ४ महिनामा टिआरसी पाइने हुँदा सम्भव भएमा
नेपाल सरकारले नै सम्बन्धित निकायबाट यो भिसालाई कानुनी रुपमा अगाडी बढाए
कम लागतमा नेपाली परदेशको ठाँउमा गएर रोजगारी अवसर पाउन सकिन्थ्यो । यो
भिसा नेपालीका लागि एकमात्र भरपर्दो उपाय हो । जसबाट न त कुनै कागजी झन्झट
ब्यहोर्नुपर्ने न त रोजगारको लागि यत्रतत्र भौंतारिदै हिंड्नुपर्ने समस्या
हुन्छ ।
रसिया साईप्रस, ईजरायलबाट पोर्तुगल छिर्ने नेपालीहरुको संख्या पनि
निकै छ । पहिला नेपालबाट रसिया, साईप्रस, ईजरायल जाने भनी दलाललाई पैसा
बुझाएर उक्त देश प्रवेश गरिकेपछि पुनः ८ देखि १० हजार डलरसम्म खर्च गरेर
फेरि पोर्तुगल प्रवेश गर्दछन् । लगानी गरेको रकम उठाउन निकै समय लाग्दछ ।
अधिकांश नेपालीहरुको सोच यस्तो छ कि १ युरो बराबर ११२ हुन्छ । युरोप
छिरेपछि त मानौं त्यहाँ पैसाको रुख नै छ । कमाउन सकिन्छ । कुनै समस्या
हुँदैन युरोको दरमा पैसा कमाएर नेपालमा साट्दा धेरै हुने भ्रमका कारण कतिपय
नेपालीहरु बिचारै नगरी झ्वाम्म बिदेश हाम्फाल्छन् ।
तर उनिहरुको यो दिवास्वप्न मात्र हो । परदेशमा आएर धन कमाउन त्यति
सहज छैन, जे जति सोचेर बिदेश आईन्छ । वास्तविकता ठिक त्यसको विपरित हुन
जान्छ । अबैधानिक अवस्थाबाट बैधानिकता पाएर जागिर खाई साहुको ऋण तिर्नेबेला
आईपुग्दासम्म आफुले लगानी गरेको पैसाको दोब्बर तेब्बर नाफानिस्की सक्छ ।
ऋण काढेर पोर्तुगल आउनु त्यती उपयुक्त देखिंदैन । परदेशमा आउनसाथ साहुको ऋण
छिट्टै तिर्न सकिन्छ भन्ने सोच गलत हो ।
साहुसँग सयकडा ३६% ब्याज दिने शर्तमा ऋण काढेर दलाललाई बुझाएको भारी
रकमबाट नेपालमै पक्कै पनि केही गर्न सकिन्छ । पोर्तुगलको मजदुरको सामान्य
तलब प्रतिमहिना करिब ५०५ देखि ५०७ युरोमात्र छ । जसबाट खानेबस्नेलगायत अन्य
कागजी प्रक्रिया हिसाब गर्दा बचत न्युन हुन आँउछ । त्यसमाथि महिनैपिच्छे
खप्टिँदै गएको साहुको ऋणको ब्याजको स्याज सहित तिर्नुपर्ने भारी रकम र
कमाएर परिवारको सपनाहरु पुरागर्ने सपना आखिर सपनामा मात्र सिमित हुन थाल्दछ
। तसर्थ बिदेश जाँदा सकभर कम लागतमा जाने सम्भावनाहरु पहिल्याउने र
स्वदेशमै बसेर केहि गर्ने सोच बनाउँदा राम्रो हुन जान्छ ।
अन्य देशको तुलनामा पोर्तुगल सहज भएपनि अहिले आएर केही कठिन भएको छ ।
पहिला पहिला कामको नियुक्ती पाएको ७ देखि ९ महिनाभित्र टिआरसी दिईथ्यो ।
यो सिस्टम सन् २००९ देखि २०१३ सम्म को अवधिमा ज्यादै कडा पारिएको थियो ।
पछि २०१३ देखि २०१५ को अवधिमा अलि हल्का भएका कारण धेरै नेपालीहरुले यो
कार्ड सहजै पास गरेको देखिन्छ । तर अहिले फेरि यो नियमलाई कडा पारिएको छ ।
राम्रोसँग कानुनी प्रक्रिया पुरा गरेको खण्डमा टिआरसी पाउन कम्तिमा ६
महिनादेखि १बर्षसम्म लाग्ने हुन्छ ।