Below slider

Content left

Content right

 

Saturday, June 27, 2015

नुवाकोट क्षेत्र नम्वर ३ का २८८ परिवार पहिरोको उच्च जोखिममा

0 comments
२०७२ असार १२ काठमाडौँ ।
            गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण नुवाकोटको निर्वाचन क्षेत्र नम्वर ३ का २८८ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।एक नगरपालिका र १८ गाविस रहेको क्षेत्र नं ३ मा भूगर्भविद्, इन्जिनियरसहितको दुई टोलीले स्थलगत अध्ययन गरी १४ गाविसको १८ स्थान असुरक्षित रहेको जनाएको छ । असुरक्षित स्थानको बस्तीलाई तत्काल स्थानान्तरण गर्न टोलीले जिल्ला दैवीप्रकोप उद्धार समितिमा सिफारिस गरेको छ ।
         अनुगमन टोलीमा जिल्ला भू संरक्षण कार्यालय नुवाकोटका प्रमुख श्यामसुन्दर श्रेष्ठ र जल उत्पन्न प्रकोप शव डिभिजन कार्यालयका प्रमुख हरि गुरागाई संयोजक रहेको पाँच–पाँच जना सहभागी थिए । टोलीले बुझाएको प्रतिवेदनमा फिकुरी गाविस वडा–७ र ९ का ९७ घर पहिरोको जोखिममा रहेको र गाउँको माथिल्लो भागमा रहेको ढुङ्गा खसेर घरसहित टेलिकमको रिपिटर टावर, सिँचाइ कुलो र खेतीयोग्य जमिनमा क्षति पुग्न सक्ने उल्लेख गरिएको छ ।
          यस्तै दाङसिङ गाविसमा दुई घर, देउराली गाविस–१ मा १४ घर, सोही ठाउँको पोलोचेमा १४ घर, आर्तामा १३ घर, सोही ठाउँको लामडाडाँमा सात घर, देउरालीकै–९ मा १५ घर, किम्ताङको नाङगाङ चलायमानमा २२ घर पहिरोको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।किम्ताङ गाविस–८ कै चुङ्गाङटोलमा २५ घर, मनकामना गाविस–८ को अर्चलेमा १४ घर, भाल्चे गाविसको भाल्चेवेसीमा १२ घर, काहुले गाविस ढोङचेतमा दुई घर, काहुलेकै मानेर्गेर्सामा दुई विद्यालय र नौ वटा घर र थप सात घर पहिरोको जोखिममा रहेका छन् ।
बर्खा लागिसकेकाले जोखिमयुक्त बस्तीलाई सुरक्षितस्थानमा स्थानान्तरण गर्न सरकारले ध्यान दिनुपर्ने जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख श्यामसुन्दर श्रेष्ठले बताए । क्षतिलाई कम गर्न कतिपय स्थानमा भूकम्पले हल्लिएको ठूला ढुङ्गाहरू विस्फोट गराउनसमेत उनले सुझाव दिए ।
        क्षेत्र नं ३ को जोखिमयुक्त बस्तीको अनुगमन गरेपनि क्षेत्र नं १ र २ मा भने अझै हुन सकेको छैन । भूकम्पको कारण चर्केको जमिनको विज्ञबाट अनुगमन गराउन स्थानीयको निवेदन जिल्ला दैवीप्रकोप समितिमा आइरहेकाले सोही निवेदनको आधारमा टोली खटाउने योजना रहेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले बताए ।


0 comments:

Like us

 

Search

 
Enjoy the site