Wednesday, July 22, 2015

नुवाकोटका एक वृद्धाले आफू संसारकै ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन्

0 comments
थानसिंग गाविस–८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाको हुनुभयो । उहाँले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ ।
अझै हट्टाकट्टा रहनुभएका बाटुली लामिछाने बिहान बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ गर्दै आउनुभएको छ । उहाँको दैनिकी देख्नेहरुले ११२ वर्ष चार महिनाको उमेर पत्याउनै मुस्किल हुने गरेको छ । अझै बोली प्रष्ट रहेको उहाँलाई कुनै ठूलो रोग नरहेको ७६ वर्षीया कान्छो छोरा नेत्रप्रसाद लामिछाने बताउनुहुन्छ । “आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, कसैको सहाराबिनै ठमठमी हिँड्नुहुन्छ” नेत्रप्रसादले भन्नुभयो । उहाँका अनुसार अझै बाटुलीले दैनिकजसो घाँससमेत काट्ने गर्नुहुन्छ ।
एक सय १२ वर्षीया जापानी नागरिक साकारी मोमोयीको निधन भएपछि लामिछाने परिवारले ११२ वर्ष चार महिनाका बाटुली संसारकै जिवित ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन् । सिन्धुपाल्चोकको गिरानीचौरमा जन्मनुभएका बाटुली विवाह गरेर नुवाकोट आउनुभएको हो । उहाँका चार सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित हुनुहुन्छ । दुई छोरी र एक छोराको निधन भइसकेको छ । बाटुलीको जेठो पनाति श्यामप्रसाद ढुङ्गानाको उमेर नै २३ वर्ष भइसकेको छ । उहाँ अहिलेसम्म निरोगी रहेको परिवारले बताएको छ ।
बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि त्यसपछि कुनै रोगको सङ्क्रमण नरहेको नातिनी ज्वार्इं नवराज न्यौपानेले बताउनुभयो । साथै ११२ वर्षीया जापानी नागरिकको निधन भइसकेकाले बाटुली संसारकै ज्येष्ठ नागरिक रहेको समेत न्यौपानेले दाबी गर्नुभएको छ । कपाल सेताम्मे फुलिसकेको बाटुली असाध्यै टाठोसमेत हुनुहुन्छ । गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि एँेचोपैचोसमेत गर्न भ्याउनुहुने बाटुली गाउँभरिका लागि जीवित देवताजस्तै सम्मानित रुपमा रहँदै आउनुभएको छ । छिमेकी अर्जुन हुमागार्इंका अनुसार उहाँको स्मरण शक्ति र बोलीचालीमा कुनै कमी आएको छैन ।
बिहान उठेर नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, घाँस काट्नेसम्मको नित्य कर्ममा लागिरहनुभएका बाटुलीले अहिलेसम्म डाक्टरी औषधि सेवन गर्नुभएको छैन । “अहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ गर्न भ्याउँछु,” बाटुलीले भन्नुभयो – “मलाई हिँडडुल गर्न, घाँस काट्न पनि केही गाह्रो भएको छैन ।” कुनै ठूलो र प्रभाव पार्ने रोग अहिलेसम्म शरीरमा नहरेको बाटुलीले अझै तन्दुरुस्तीका साथ जीवन बिताउनुहुने चिनेजानेकाहरुको अनुमान छ ।
गत वैशाखमा गएको भूकम्पका बेला घरको फलैचामा बसिरहनुभएकी बाटुलीलाई यो पालिको भूकम्पको पत्तै भएन । बरु उहाँलाई ९० सालको भूकम्पले अहिलेसम्म हल्लाइरहेको छ । “यसपालिको भइँचालो त पत्तै भएन, ९० सालमा त बेस्सरी हल्लिएको थियो” बाटुलीले भन्नुभयो । उहाँले अहिलेसम्म नेपालमा भएका सबै निर्वाचनमा भाग लिनुभएको छ । पञ्चायतकालका सबै निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनमा समेत बाटुलीले उत्तिकै सक्रिय र उत्साहका साथ मतदान गर्नुभएको छ । रासस

0 comments:

Like us

 

Search

 
Enjoy the site