Wednesday, July 8, 2015

युएईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ नेपाल फर्किए

0 comments
        युएई २३ असार – हत्या अभियोगमा युएईको जेलमा रहेका अनिश खालिङ राई नेपाल फर्किनुभएको छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल फर्किनुभएको हो ।
      राईलाई सजाय मिनाहा गरेर नेपाल पठाएको युएईका लागि नेपाली राजदुत धनन्जय झाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कानूनी प्रक्रिया पूरा गरेर यहाँको सरकारले नै विमानस्थलमा पुर्‍याएकाले अनिशलाई सहयोग गर्ने नेपाली र दूतावासमा उहाँले फोन सम्पर्क गर्न सक्नुभएन । हत्याको अभियोग लागेको मुद्दाका जोसुकैलाई देश निकाला गर्दा फेरी आउन नमिल्ने भएकाले नेपाल पुगेपछि मात्र आधिकारिक जानकारी कुटनितिक माध्यममार्फत आउँछ ।’ चार वर्षअघि युएई आएका राईलाई आफ्नै सहकर्मी पाकिस्तानी नागरिकको हत्या गरेको अभियोग लागेको थियो ।
      संखुवासभाको मत्स्यपोखरीका अनिश युएई आएको एकवर्ष पछि २०६९ साल कात्तिकमा जेल चलान गरिएको थियो । उहाँलाई युएईको अलऐन जेलमा राखिएको थियो । नेपाल फर्काउन उहाँलाई एकहप्ता अघि नै जेल प्रशासनले कैदी रिहा गर्ने विभाग पुर्‍याएको थियो ।
        स्थानिय प्रशासनले अनिशको बाँकी २ बर्षको जेल सजाय मिनाह गरिदिएपछि नेपाल फर्काइएको एन आर एन युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । भुसाल अनिशको मुद्दालाई नेपाली दूतावास र विभिन्न अधिकारवादी संघसस्थासँग समन्वय गरेर काम गर्ने व्यक्ति हुनुहुन्छ ।
अभियोग लागेपछि अनिशका तीन वर्ष
       सुरुमा युएईको आवुधावीमा रहेको तल्लो अदालतले राईलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई विकल्प दिँदै सजाय गर्ने फैसला गरेका थियो ।
      अदालतले दिएको विकल्पमा ‘खुनको बदला खुन’ अर्थात हत्या आरोपीलाई मृत्युदण्ड नै दिने, ब्लडमनी लिएर सजाय मिनाह गरिदिने वा अन्य कुनै सजाय दिने भन्ने बिषयमा पीडित पाकिस्तानी नागरिकको परिवारलाई नै निर्णय गर्न दिइएको थियो ।
      अदालतले सुनाएको फैसला अनुसार मृतक पाकिस्तानी नागरिकका परिवारले ब्लडमनि वापतको रकम स्वीकारेको छ । पीडित पाकिस्तानी नागरिकका परिवारले ब्लडमनी स्वरुप झण्डै ८६ लाख रुपैयाँ अर्थात ३ लाख ५ हजार दिराम मागेको थियो । त्यसका लागि अनिशको परिवारको अनुरोधमा संसारभरका नेपालीले ब्लडमनीका लागि रकम संकलन गरेका थिए ।
       अनिशलाई बचाउन विभिन्न देशमा गैर आवासीय नेपाली संघ, विभिन्न संघसंस्था र व्यवसायीहरुले ‘अनिश बचाउ अभियान’ नै संचालन गरेर रकम संकन गरेका थिए । अभियानबाट आवश्यक पर्नेभन्दा धेरै रकम संकलन भएको थियो ।
      आवश्यक रकम सकंलन भएपछि कुटनीतिक पहलमार्फत नेपालमा जम्मा भएको रकम राजदूतावास र परराष्ट्र मन्त्रालयको सहयोगमा यहाँ ल्याइएको थियो । ब्लडमनी वापतको पैसा अदालत मार्फत पीडित परिवारलाई बुझाउन दूतावासका कर्मचारी गएका थिए ।
      पैसा बुझाउन जाँदा अनिशको ब्लडमनी वापतको पैसा कसैले बुझाई सकेको विवरण पाएपछि दुतावासले नेपालबाट ल्याएको रकम फिर्ता गरेको थियो । अनिशले बुझाउनु पर्ने त्यत्रो रकम कसले ? किन ? तिरिदियो भन्ने अझै पनि खुलेको छैन । राईले बुझाउनु पर्ने ८६ लाखरुपैया यहाँको स्थानिय वित्तिय संस्था मार्फत अदालतको खातामा जम्मा गरिएको दुतावासलाई प्राप्त सूचनामा उल्लेख छ ।
     ब्लडमनी तिरे पनि अदालतले दिएको ५ बर्षको जेल सजाय भने भुक्तान गर्नुपर्ने बताइएको थियो । तीन वर्ष जेलमा बिताइसकेकाले दुई वर्षभित्र अनिश स्वदेश फिर्न सक्ने अनुमान गरिएको थियो । तर,  मुश्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर उहाँलाई युएई सरकारले सजाय मिनाहा गरेको थियो ।  उज्यालो अनलाइन बाट

0 comments:

Like us

 

Search

 
Enjoy the site