Friday, August 14, 2015

दक्षिण कोरियामा अबैधानिक रुपमा काम गर्दै आएका ११ नेपाली पक्राउ

0 comments
सोल, श्रावण २९ - दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ परेका छन् । भिसा अवधि सकेर अबैधानिक रुपमा काम गर्दै आएका उनीहरुलाई बिभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका हुन्  ।

बुधबार राती ख्यंगी प्रान्तको आनसान हाङजी अपार्ट नजिकै रहेको छजाङ छङइल नामक मोटर पार्ट बनाउने कम्पनीमा कार्यरत चार जना अबैधानिक नेपाली कामदारलाई प्रहरीले पक्राउ गरि अध्यागमन बिभागमा बुझाएको थियो ।

उनीहरु मध्ये दुई जना रोजगार अनुमति प्रणाली (ईपिएस)  मार्फत आएर भिसा अबधि सकिएका हुन् भने अन्य दुई जना डिपेन्डेन भिसामा कोरिया आएको त्यहा कार्यरत एक नेपालीले बताए ।

उक्त कम्पनीमा १ महिनाअघि कास्की लेखनाथ १२ का भवीश्वर गुरुङको सुतेकै अवस्थामा मृत्यु भएको थियो । गुरुङ पनि अबैधानिक थिए ।

त्यस्तै ख्यङसाङ प्रान्तको थेगु नजिकैबाट डाईकस्टिङ कम्पनीमा कार्यरत ७ जना नेपाली कामदार पक्राउ परेका छन । अध्यागमन बिभागको कर्मचारीले गत सोमबार दिउसो २ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ३ महिला ४ पुरुष कामदार छन् । अध्यागमनका कर्मचारीले ५ जनालाई कम्पनीमा काम गरिरहेको अवस्थामा र २ जना राती काम गरेर सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

अर्को एक जनालाई पक्राउ गरे पनि कोरियन अनुहार भएकाले छोडेको नजिकै कम्पनीमा कार्यरत एक नेपालीले बताए । बाहिरबाट अरुले उजुर गरेपछि अध्यामगनका कर्मचारी आएर नेपाली कामदार पक्राउ परेको ती नेपालीले बताए ।

अवैधानिक बिदेशी कामदारलाई यसअघि अध्यागमनका कर्मचारीलेमात्र पक्राउ गर्दै आएकोमा पछिल्लो समय प्रहरीले समेत पक्राउ गर्ने गरेको छ ।

कोरियामा पछिल्लो समय भिसा अबधि सकेर अबैधानिक बस्ने नेपालीको संख्या बढ्दो छ । हालसम्म नेपाली अबैधानिक कामदारको संख्या एकिन तथ्यांक नभए पनि करिब २ हजार नेपाली युवा अबैधानिक रुपमा बसेको अनुमान गरिएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site