Monday, August 10, 2015

डिभी,पिआर बोकेका कर्मचारीहरुले राजीनामा दिन थाले

0 comments
काठमाडौँ २५ साउन । विदेशको स्थायी अनुमतिपत्र (पिआर), डाइभर्सिटी भिसा (डिभी) लिनेलाई बर्खास्तसम्म गर्ने कानुन कार्यान्वयनमा आएपछि कर्मचारीले राजीनामा दिन थालेका छन् । सचिव, सहसचिवदेखि तल्लो तहका कर्मचारीसम्मले राजीनामा दिएका छन् । बोकेका

कर्मचारीले घरायसी तथा स्वास्थ्य लगायतको कारण देखाउँदै राजीनामा दिएका हुन् । तर, सामान्य प्रशासन मन्त्रालयले पिआर तथा डिभी लिएका कर्मचारीले धमाधम राजीनामा दिन थालेको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार राजीनामा दिनेहरुको सूची बढ्दै गएको छ । अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले केही दिनअघि राजीनामा दिएका छन् ।

भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएर अमेरिका गएको स्रोतले बताएको छ । उनी २० माघ ०७१ मा सचिवमा बढुवा भएका थिए । उनको पदावधि अझै साढे चार वर्ष बाँकी थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भण्डारीसँग अमेरिकाको पिआर रहेकाले राजीनामा दिएको जनाएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि भण्डारीले राजीनामा दिएको सुनेको, तर औपचारिक जानकारी नआइसकेको बताए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गर्नेछ । सूचना आयोगका सचिव लक्ष्मण मैनालीले भने आफ्नो श्रीमतीसँग अमेरिकाको पिआर रहे पनि आफूसँग नरहेको जानकारी गराएका छन् । उनीमाथि थप छानबिन हुनसक्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । पिआर भएकै कारण राजीनामा दिनेमा सहरी विकास मन्त्रालयका सहसचिव महेन्द्र सुब्बा रहेको सामान्य मन्त्रालय स्रोतले बतायो ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव गोपाल कटुवाल क्षेत्रीले पनि राजीनामा दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हाल पेन्सन पाकिसकेका, डिभी–पिआर भएका केही कर्मचारीले स्वास्थ्य तथा घरायसी कारण उल्लेख गरेर धमाधम राजीनामा दिइरहेका छन् । नयापत्रिका

0 comments:

Like us

 

Search

 
Enjoy the site