Saturday, August 8, 2015

नेपालका नेता,सरकारी उच्च पदका अधिकारीहरूले छोराछोरीलाई विदेशमा राखी सम्पत्ति विदेश पठाउदै

0 comments
२२ श्राबन , काठमाडौं । राजनीतिलाई आम्दानीमूलक व्यवसाय बनाउँदै आएका कतिपय नेपाली नेताहरूले पदको प्रभावमा पारी छोराछोरीलाई विदेश पढाउने र उतै ‘सेटल’ गराउने गर्दै आएका छन् । राजनीतिक दलका नेताहरूले मात्र नभएर निजामती कर्मचारी, सेना तथा प्रहरीका उच्च अधिकारीहरूले समेत आफ्ना सन्तानलाई विदेशमै सेटल गराएका छन् । तर, विदेशमै घरजम गरेर बस्ने र नेपालमा कमाएको पैसा पनि विदेशमै लैजानेमा सेना–प्रहरीभन्दा राजनीतिमा सक्रिय रहेका नेता र निजामती सेवामा काम गर्ने अधिकारीहरू अगाडि रहेका छन् । विदेशमा आफ्नो सन्तानसँगै कमाइ पनि पठाउने नेताहरूले आफ्ना छोराछोरीलाई राजनीतिबाट भने टाढा राखेका छन् । तर, उनीहरू सर्वसाधारण जनताका छोराछोरीलाई राजनीति गर्नुपर्छ भन्दै स्कुल पढ्दादेखि नै सङ्गठनको सदस्यता दिलाउन मरिहत्ते गर्छन् र देशभक्तिको गाथा गुथ्छन् भने आफ्ना सन्तानका नाममा देशको सम्पत्तिलाई हुन्डी (अवैध कारोबार)मार्फत विदेश पठाउँछन् ।

विदेशमा आफ्ना छोराछोरी, आफन्त तथा नातागोताका मानिस राखेर नेपाली सम्पत्ति विदेश पठाउनेमा प्रधानमन्त्री सुशील कोइराला पहिलो नम्बरमा पर्छन् भन्दा कतिलाई विश्वास नहुन सक्छ, तर सत्य यही हो । उनले आर्जन गरेको सम्पत्ति विदेशमा पठाउँछन्, विभिन्न व्यक्तिको नाममा । उनको निजी सचिवालयमा विदेशी कार्डधारीहरूको बाहुल्य रहेको छ । अमेरिकामै स्थायी बसोवास गर्दै आएकी मृदुला कोइरालालाई नेपाल झिकाई आफ्नो अवैतनिक सल्लाहकार बनाएर आफ्नो कारोबारलाई अझ सजिलो बनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री कोइरालाले मृदुलामार्फत नै आफ्नो सम्पत्ति विदेशमा पठाउने गरेको जानकारीमा आएको छ । यसअघि उनले उमा कार्की नामकी महिलामार्फत पनि नगद पठाउने गर्दथे । मृदुला अमेरिकाको स्थायी बसोवास पाएकी नेपाली नागरिक हुन् । उनको परिवारका सबै सदस्य अमेरिकामै बसोवास गर्दै आएका छन् ।
यसैगरी कोइरालाको प्रिय सल्लाहकार विजन पन्तको बेलायतमा तीनवटा घर रहेको बताइन्छ । उनका सन्तान पनि उतै छन् । त्यस्तै, निजी स्वकीय सचिवालयमा रहेका कोइरालाका नातेदार रमेश शर्मा र प्रभा भण्डारीका छोराछोरी पनि अमेरिकामै छन् । उनीहरूका नाममा नेपालबाट हुन्डीकै माध्यमबाट पैसा पठाउने गर्छन् शर्मा र भण्डारीले ।

राष्ट्रपति डा. रामवरण यादवका तीन सन्तान छन् । एक छोरा र एक छोरी नेपालमा छन् भने एउटा अमेरिकामा । यादवको कान्छो छोरा चन्द्रशेखर अमेरिकामा छन् । बैंककबाट ‘इन्भाइरोमेन्ट इन्जिनियरिङ’मा स्नातकोत्तर चन्द्रशेखर पढाइ सक्नेबित्तिकै अमेरिका हानिएका हुन् । स्रोतका अनुसार राष्ट्रपति यादवले पनि छोराको नाममा आफ्नो सम्पत्ति अमेरिकामै जम्मा गर्ने गरेका छन् । यादवका एक छोरा चन्द्रमोहन यादव चिकित्सक हुन् भने उनी संविधानसभामा सभासद् पनि हुन् । छोरी अनिता पितासँगै शीतलनिवासमा बस्छिन् । बेलायतबाट स्नातकोत्तर गरेकी अनिता पितालाई भेट्न आएका स्वदेशी तथा विदेशी अतिथिलाई स्वागत गर्ने, भ्रमणको कार्यतालिका मिलाउनेजस्ता काममा सक्रिय हुन्छिन् ।

काङ्ग्रेस महामन्त्री प्रकाशमान सिंहका दुई छोरामध्ये जेठो प्रभावमान सिंहले अस्ट्रेलियाबाट इकोनिमिक्समा स्नातकोत्तर गरेका छन् । उनी उतै बस्ने तयारी गरिरहेका छन् । उनले अस्ट्रेलियमा सम्पत्ति जोडिसकेका छन् । तर, प्रभावले ‘आफ्नो हजुरबुवाको नाममा खोलिएको गणेशमान सिंह फाउन्डेसनमा आबद्ध भएर काम गरिरहेको बताए ।’

काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको सहयोगमा चेन्नईमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका छोरा श्याप्रसाद र कान्छी छोरी रीतदीप्ति अमेरिकामा छन् । सिटौलाको भारतमा ठूलो व्यापार भएकोले छोरा श्यामप्रसाद बढी समय भारतै बस्छन् । सिटौलाको भारतको दिल्ली र नोयडामा व्यापार छ । नेपालमा कमाइ भएको रकम उनी अमेरिका र भारतमा सञ्चित गरिरहेका छन् । सिटौलाले पनि आफ्नो सम्पत्ति हुन्डीमार्फत विदेश पठाउने गरेका छन् । सिटौलाकी अर्की छोरी चम्पदीप्ति भने नेपालमै छिन् ।

यसैगरी कम्बल ओडेर घ्यू खाने नेताको छवि बनाएका काङ्ग्रेस नेता महेश आचार्यको छोरा अमेरिकामा छन् । उनले नेपालमा कमाएको सबै सम्पत्ति पछिल्लो समय अमेरिकामा पठाउने गरेका छन् । उनी मन्त्री भए पनि विदेशमा पैसा पठाउने सहारा हुन्डीलाई नै बनाएका छन् । त्यस्तै सञ्चारमन्त्रीसमेत रहेको मीनेन्द्र रिजाल, काङ्ग्रेस नेता गोविन्दराज जोशीका छोराछोरी पनि अमेरिकामै छन् । उनीहरू आफ्नो सम्पत्ति अमेरिकामै जम्मा गरिरहेका छन् । त्यस्तै, काङ्ग्रेस नेतृ सुजता कोइरालाकी छोरी बंगलादेश र छोरा जर्मनीमा छन् ।
सुजाता पनि आफ्नो सम्पत्ति छोरीछोरीका नाममा विदेश पठाउने गर्छिन् ।

एमाले निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि आफ्नो सम्पत्ति अमेरिकामा जम्मा गरेका छन् । उनले छोरा निर्भीकमार्फत आफ्नो सम्पत्ति अमेरिकामा सञ्चित गरेका छन् । निर्भीकले अमेरिकाबाट साइन्समा स्नातकोत्तर गरेका छन् । केही समयअघि नेपाल आएर युवा सङ्घमा आबद्ध भएका निर्भीकको बसोवास अमेरिकामै हुने गरेको छ ।

पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता माधव नेपालका छोरा सौरभ इन्जिनियर हुन् । सौरभले भारतबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरेका छन् । नेपालस्थित एक निजी कम्पनीमा काम गर्छन् । छोरी सुमन मेडिकल साइन्सकी विद्यार्थी हुन् । उनी अहिले अमेरिकामा छिन् । नेपालले आफ्नो सम्पत्ति छोरीका नाममा अमेरिकामै सञ्चित गरिरहेको बताइन्छ । एमालेका महासचिव ईश्वर पोखरेलका छोरा सौराज पनि अमेरिकामै छन् । महासचिव पोखरेलले नेपालमा राजनीतिक व्यवसायबाट कमाएको पैसा छोरा सौराजको नाममा अमेरिकामै बचत गरिरहेको बताइन्छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो सम्पत्ति छोरा हरिशदेव गौतममार्फत चीन र अमेरिकामा सञ्चित गरिरहेका छन् । पूर्वअध्यक्ष खनालको छोरासँगै युवा सङ्घमा आबद्ध भएका हरिश पेसाले इन्जिनियर भए पनि कन्सल्टेन्सी र ट्राभल व्यवसाय गरिरहेका छन् । उनी ट्राभलमार्फत नेपाली नागरिकलाई विदेश ओसारपसारमा संलग्न भएको बताइन्छ । गौतमका दुई छोरीमध्ये विजिता नेपालकी डेन्टिस्ट हुन् भने अजिता अमेरिकामा छिन् । अजिताले गौतमको अमेरिकामा रहेको सम्पत्ति रक्षा गरिरहेको बताइन्छ ।

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईकी छोरी मानुषी पनि सक्रिय राजनीतिमा छैनन् । उनी अमेरिका अध्ययन गर्न गएकी छिन् । पछिल्लो समय बाबुरामले पनि छोरीका नाममा सम्पति सञ्चित गरिरहेका छन् । रकम सञ्चित गर्ने काममा पत्नी हिसिला यमी लागेकी छिन् । उनले छोरीका नाममा करोडौँ रकम नेपालबाट बाहिर पठाइसकेको चर्चामा आए पनि खोजबिन भएको छैन ।

त्यस्तै, एमाओवादीमा लागेका, तर गुमनाम भएका अमिक शेरचनका छोराहरू प्रमिक र क्रमिक पनि अमेरिका छन् भने माओवादीका अन्य नेताहरूका छोराछोरी कोही राजनीतिमा सक्रिय छन् भने कोही नेपालकै विद्यालयमा अध्ययन गरिरहेका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका दुई छोरा र एक छोरी छन् । गच्छदारका सहयोगी कन्हैयालालका अनुसार गच्छदारका जेठा छोरा सुमन अमेरिकामा अटोमोबाइल्समा इन्जिनियरिङ गर्दै छन् । गच्छदारले आफ्नो छोराको नामबाट अमेरिका दुईवटा घर किनिसकेका छन् । उनले ती घर भाडामा लगाएका छन् । गच्छदारको कान्छा छोरा सुवास भने त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा मास्टर सकेर राजनीतिमा आउने तयारी गरिरहेका छन् । छोरी रिना घरधन्दामा लागेकी छिन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रसिद्धि पनि बेलायतमा छिन् । उनकी माइली छोरी डा. प्रगति थापा नर्भिक अस्पतालमा र कान्छी बैंकमा जागिरे छिन् भने छोरा सुवास काठमाडौंको एक संस्थानमा काम गर्छन् । पशुपतिशमशेर राणाका छोरीहरू पनि राजनीतिभन्दा बाहिर छन् । उनीहरू बिदेसिएका छन् । राणाले नेपालमा रहेको आफ्नो सम्पत्ति भारतमा जम्मा गरिरहेका छन् ।
– रामहरि पाण्डे

0 comments:

Like us

 

Search

 
Enjoy the site