मकवानपुरको काँकडा–१ सिलिङ्गेकी शोभा तामाङ कुवेत पुगेको झण्डै दुई बर्ष बितिसकेको छ । मिठो खाने र राम्रो लाउने रहरै रहरले साथीहरुको देखासिकीमै कुवेत हान्निएकी शोभा जब कुवेत पुगिन् अनिमात्रै थाहा भयो कुवेतको गाह्रसारो । एक त महिला, त्यसमाथी नयाँ ठाउँ, नयाँ भाषा र नयाँ काम । सजिलो हुने त कुरै थिएन । कुवेत जानुभन्दा अघि शोभाले सोचेकी थिइन् दुई बर्ष विदेशमा काम गर्ने र फर्किएपछि गाउँमै बसेर केहि गर्ने । त्यतिबेला हिम्मत पनि त्यस्तै थियो । जे त पर्ला, अरु पनि दिदीबहिनी गएका छन् भन्ने सोचेर दलालमार्फत् कुवेतको एउटा घरसम्म पुगिन् उनी । काम गाह्रो भएपनि १४ महिनासम्म त्यहाँ रहेर काम गरिन् । कामको चाप, बेलामा सुत्न र खान नपाउँदा उनी एक्कासी बिरामी परिन् । त्यसपछि भने कुवेतको रहर पुग्यो शोभालाई । उनी नेपाल फर्किन चाहिन्थन् । तर उनले चाहेर के गर्नु, मालिक मालिक्नीले फर्किन दिएनन् । त्यसपछि उनी untitledआफूलाई त्यहाँ काममा लगाउने दलाली कम्पनीको सम्पर्कमा पुगिन् । उनलाई कुवेत बस्ने इच्छा मरिसकेको थियो । त्यो कम्पनीले दुईबर्ष नपुगी फर्किन मिल्दैन भन्यो र अर्को घरमा काम गर्न पठायो । शोभाले पहिले काम गरेको घरबाट २ महिनाको तलब पनि लिएकी थिइनन् । पहिला काम गरेको घरका साहुनीले अर्को घरमा काम सुरु गरेपछि पैसा ल्याएर त्यही कम्पनीमा छाडिदिएका रहेछन् । तर उनले त्यो पैसा पाइनन् । उनी भन्छिन् हामीलाई त यहाँ मान्छेलाई गर्ने जस्तो व्यवहारपनि गरिँदैन । हामी अर्कै जातको मान्छे जस्तो गरिन्छ । उनीहरुले हामीलाई पशुजस्तो मान्छन् । हामीले यहाँ मानवीय सम्मान त के आफ्नो अधिकारको प्रयोग गर्न पाउँदैनौं र सक्दैनौं पनि । यही कारण र जति काम गरेपनि पैसा नदिने भएपछि उनले काम छाडेर साथीहरुसँग बस्न थालिन् । तर सबै उस्तै उस्तै । नेपालमा एक आपसमा सहयोग गर्ने संस्कारमा हुर्किएकी उनले अरुबाट पनि त्यस्ते आशा गर्थिन् । तर कसैले कसैले केही गर्नेवाला थिएन । शोभा अहिले छटपटिमा छिन्, न उनले पैसा कमाउन सकिन् न उनले भनेजस्तो नै भयो । उनीसँग अहिले पासपोर्ट पनि छैन । जसरी होस् नेपाल फिर्न चाहन्छिन् । तर उपाय छैन ।
-
0 comments:
Post a Comment