Friday, November 20, 2015

मृगौला रोगको लक्षण, बच्ने उपाय

0 comments
नेपालमा मृगौला रोग लाग्नेको संख्यामा कमी आउन सकेको छैन । अस्पतालहरुमा बिरामीहरुको चाप हेर्दा पछिल्लो समयमा मृगौला रोगीको संख्यामा वृद्धि हुँदै गैरहेको हो भन्ने प्रष्ट हुन्छ । मृगौला रोग लागेको पत्ता लगाउन सर्वप्रथम मृगौला परिक्षण गर्नुपर्छ । बिना परिक्षण मृगौला रोग थाहा पाउन सकिँदैन । मृगौला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदम खतरानाक हुन्छ । किनभने मृगौला रोगको लक्षण देख्नु भनेको मृगौला बिग्रिसकेको अवस्था हो । त्यसैले हरेक मानिसले वर्षमा एकपटक आफ्नो मृगौला परीक्षण गरेर बस्नु नै सबैभन्दा उत्तम उपाय हुनेछ ।


नेपाली समाजमा धेरैले रोगको लक्षण देखिएपछि वा बिरामी भएपछि मात्र उपचारमा ध्यान दिने गरेको पाइन्छ । जुन सरासर गलत हो । शरीरको अवस्थाका बारेमा बेला बेलामा जानकारी लिनुपर्छ । मृगौलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या हो । धेरैजसो युवाहरुमा मृगौलाको समस्या देखिन्छ । तर वृद्धा अवस्थामा देखिँदैन भन्ने चाहिँ होइन । साधारणतया वृद्धा अवस्थामा रोग लागे उमेर ढल्केको हुन्छ र त्यत्ति धेरै समस्या हुँदैन । यदि ३०–५० वर्षको बिचको व्यक्तिलाई प¥यो भने घरको कमाउने व्यक्ति नै उही हुन्छ । जसले घर धानीरहेको छ उसको उपचारमा खर्च गर्नु प¥यो भने उसले कमाउने कि उपचारमा खर्च गर्ने ? यसले गर्दा परिवार र समाजलाई दोहोरो मार पर्न जान्छ । मृगौलाको उपचार निकै नै महङ्गो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजो हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउछ ।


मृगौलालाई स्वस्थ राख्नुपूर्व मृगौलाले के काम गर्छ ? त्यो बुझन जरुरी छ । मृगौलाले हामीले खाएको खाद्य पदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दुुषित पदार्थ शरीरमा नबसोस् भनेर मृगौलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मृगौलामा रोग लाग्यो भने उच्च रक्तचापको समस्या देखिन्छ । त्यसकारण उच्च रक्तचाप पनि मृगौला रोगको लक्षण हो । अन्य लक्षण मध्ये शरीर सुनिनु, पिसाबको मात्रा घट्नु  पनि हो । मृगौला रोग लागेपछि रगत छानेर दुषित पर्दाथ पिसाबमा फाल्ने क्षमता घट्छ ।


मृगौला फेल भयो भने रगत फिल्टर गर्न सक्दैन र रगतमा क्रियटिनीन्को मात्रा बढ्छ । १.५ सेरम क्रियटिनीन् हुनु पर्नेमा सेरम क्रियटिनीन् १.४ भयो भने .१ मात्र बढेको हुन्छ । यदि हामीले जाँचेको साँचिनै सहि हो भने त्यो मृगौला आधि बिग्रीएको हुन्छ । त्यस्तो अवस्थामा मृगौला स्थायी रुपमा बिग्रिएको हो वा अस्थायी हो भनेर हेर्नुपर्छ । अस्थायी भनेको ज्वरो आएको वा अन्य औषधि सेवन गरेका कारणले मृगौलामा केही समस्या देखिएको अवस्था हो । यस्तो समस्या ज्वरो वा के कारणले औषधि खानु परेको हो त्यो सेवन गर्न छाडेपछि मृगौलाको समस्या पनि ठिक हुन्छ । त्यो पनि समयमा ध्यान दिएको खण्डमा मात्र, होइन भने ३ महिना सम्म बेवास्ता गरेमा उपचार गरे पनि ठिक हुने सम्भावना कम हुन्छ । स्थायी भनेको मृगौला साँच्चिकै काम गर्न नसक्ने अवस्थामा पुगेको हो ।


मृगौला रोगको उपचारका लागि हाम्रो देशमा पछिल्लो समयमा धेरै व्यवस्था भैसकेको छ । तर यी उपचार सेवा बढीजसो राजधानी केन्द्रित छन् । त्यसैले मृगौलाको उपचार भन्दा पनि रोकथाम गर्नु नै ठूलो कुरा हो । त्यसका लागि सबैले मृगौला अनिवार्य परीक्षण गर्न आवश्यक छ ।  हामीले सबैलाई वर्षमा एक पटक मृगौला परिक्षण गर्नु राम्रो हो भन्दै आइरहेका छौँ । रोगको बारेमा चर्चा परिचर्चा गर्नु भन्दा स्वस्थ व्यक्तिले पनि म स्वस्थ छु भन्ने प्रमाणित भएर ढुक्क भएर बस्नु राम्रो हुन्छ । हामीकहाँ स्वास्थ्य परिक्षण गर्नु भनेको रोग पत्ता लगाउनु भन्ने भ्रम छ । तर वास्तवमा त्यस्तो होइन । परिक्षण गरेर के फाइदा हुन्छ ? भन्ने सोच आजैबाट त्यागौं । सुरुको अवस्थामा नै रोग पत्ता लागेमा निको पार्न सकिन्छ अर्थात मृगौला फेल भएर जाने क्रमलाई रोक्न सकिन्छ ।


मृगौला फेल भएकाको उपचारको लागि हाल वीर अस्पताल, शिक्षण अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, पाटन अस्पताल, राष्ट्रिय मृगौला उपचार केन्द्र लगायत धेरै ठाउँमा यसको उपचार गरिन्छ । नेपालमा हाल आएर उपचार सरल र सस्तो पनि छ तर जब मृगौला बिग्रन्छ तब धेरै नै महंगो पर्न जान्छ । औषधिहरु धेरै नै महंगा छन् । बिग्रेको अवस्थामा सुबिधा त छ तर ”आकासको फल आँखा तरी मर” भने जस्तो छ । त्यसैले सरकारले मुटु रोग, क्यान्सर रोगको बराबरीमा मृगौला रोग पनि एक दिर्घ रोग हो जुन नेपालीले धान्न सक्दैन भन्ने सोच बनाउनु पर्छ । र त्यहि अनुरुपको कार्यक्रमको व्यवस्था गर्नुपर्छ ।


मृगौला रोगको लक्षणहरु


–    शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
–    खाना रुची कम हुने, वाक वाक लाग्ने ।
–    शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
–    शरीरको छाला गाढा कालो भएर जाने ।
–    सास फेर्न गा¥हो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्छ ।
–    सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ ।

मृगौला रोगबाट बच्न के गर्ने ?


–    रक्तचाप र मधुमेहको नियमित परिक्षण गरी नियन्त्रणमा राखौं ।
–    स्वस्थ व्यक्तिहरुले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।
–    प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधि सेवन नगरौं ।
–    संयमित आहारको सेवन गरौं, नियमित शारीरिक व्यायाम गरौं तथा सही स्रोतबाट सूचना लिने बानी बसालौं ।


मृगौला सम्बन्धी रोग लागेमा के गर्ने ?


–    मृगौला रोगको उपचार अत्यन्त महंगो हुन सक्दछ तसर्थ चिकित्सकको नियमित सल्लाह अनुसार समयमै रोग माथि नियन्त्रण राख्न कोशिस गरौं ।
–    मृगौला फेल भएमा व्यक्तिहरु सम्भव भए सम्म प्रत्यारोपण गराऊ र अरु स्वस्थ व्यक्ति सरह जीवन बिताऔं ।
–    प्रत्यारोपण सम्भव नभए डायलाइसिस सेवाबाट लाभान्वित होऔं ।
–    डायलासिस तुलनामा प्रत्यारोपण निकै किफयती हुने तथा प्रत्यारोपित व्यक्तिहरु दिर्घायु हुने गर्दछन् ।
–    अगंदान दिई अरुलाई जीवनदान दिऔं र पुण्य कमाऔं ।
डा. ऋषि काफ्ले, बरिष्ठ मृगौला रोग विशेषज्ञ श्रोत:स्यस्थ्य खबर

0 comments:

Like us

 

Search

 
Enjoy the site