Sunday, May 31, 2015

सरकारले भूकम्पको बेला हराएको कागजातहरु जस्ताको तेस्तै दिने भएको छ

0 comments
 जेठ १६ – भूकम्पका कारण तपाईंका महत्वपूर्ण कागजात हराएको छ ? यदि छ भने चिन्ता नलिनुहोस् । सरकारले हराएका विभिन्न किसिमका कागजात जस्ताको त्यस्तै  दिने भएको छ । घर भत्किँदा नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, जग्गा धनीपूर्जा लगायतका कागजात हराएमा सरकारले सम्बन्धित कार्यालयबाट दिने तयारी गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालका अनुसार कागजपत्र हराएका व्यक्तिले सम्बन्धित कार्यालयमा निवेदन दिएपछि कार्यालयले आफ्नो रेकर्डका आधारमा कागजपत्र दिनेछ । यदि कार्यालयको रेकर्डमा पनि नभेटिए अरु उपायबाट भने पनि पीडितलाई प्रमाणपत्र दिइने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ ।
भूकम्प, बाढी पहिरो, आगलागी जस्ता प्रकोप आउँदा पहिले आफ्नो ज्यानको सुरक्षा गर्नुपर्छ । धनसम्पत्ति र महत्वपूर्ण कागजात जोगाउने ध्यान पुग्दैन । दराजको कुन कुनामा थन्क्याएर राखिएका यस्ता कागजात सितिमिति भेट्न पनि मुस्किल पर्छ । आपद परेर भाग्ने बेलामा केही गरी सम्झियो भने पनि निकाल्न निकै कठिन हुन्छ ।
गएको वैशाख १२, १३ र २९ गते गएका भूकम्पका कारण विशेष गरी १४ जिल्लाका अधिकांश घर भत्किएका छन् । घर भत्किँदा कुन किसिमका कति कागजपत्र नष्ट भयो भन्ने यकिन विवरण सरकारसँग नभए पनि पीडितको मागका आधारमा कागजात दिने बताउनुहुन्छ, महाशाखा प्रमुख रामेश्वर दंगाल ।

नागरिकता

प्रशासनिक कामका लागि नागरिकता पहिलो शर्त हो । नेपालको संविधान अनुसार १६ वर्ष पूरा गरेको व्यक्तिले सजिलै नागरिकता पाउँछ । नागरिकता गृह मन्त्रालय अन्तरगतको जिल्ला प्रशासन कार्यालयले वितरण गर्छ । यसपटको भूकम्पमा अरु कागजातको तुलनामा नागरिकता नै धेरै हराएका छन् ।
नागरिकता हराउने व्यक्तिले भएसम्म पुरानोको फोटोकपी सहित गाविस वा वडा सचिवको सिफारिस सहित जिल्ला प्रशासनमा निवेदन दिनु पर्छ । प्रशासनले आफ्नो रेकर्डका आधारमा प्रतिलिपि नागरिकता प्रदान गर्छ ।

शैक्षिक प्रमाणपत्र

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे भूकम्पका कारण एसएलसीको पत्रमाणपत्र हराएको भए एकदिनमै पाउने बताउनुहुन्छ । त्यसका लागि विद्यार्थीले क्षेत्रीय शिक्षा निर्देशनालयमा तोकिएको दस्तुरसँगै निवेदन दिनुपर्ने हुन्छ । निवेदनमा विद्यार्थीले आफ्नो सिम्बोल नम्बर र विद्यालयको नाम अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
हराएको एसएलसीको प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट पनि लिन सकिन्छ । तर त्यहाँबाट लिँदा दोब्बर दस्तुर तिर्नुपर्ने हुन्छ । विद्यार्थीले आफ्नो सिम्बोल नम्बर पत्ता लगाउन नसके विद्यालयको कोड नम्बर, नाम उल्लेख गरेर निवेदन दिए त्यसका आधारमा पनि खोज्न सकिने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे बताउनुहुन्छ । प्लस टु को प्रमाणपत्र लिन पनि एसएलसीको जस्तै गरी परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिनुपर्छ ।
त्रिभुवन विश्वविद्यालयमा भने हराएको शैक्षिक प्रमाणपत्र पाउनका लागि भूकम्पबाट हराएको भन्ने प्रहरी रिपोर्ट बनाउनु पर्नेछ । त्रिविका परीक्षा नियन्त्रक केशवप्रसाद बास्तोलाका अनुसार प्रहरी रिपोर्टका साथ निवेदन दिएमा विद्यार्थीले प्रमाणपत्र पाउनेछन् । तर ‘ओरिजिनल’ प्रमाणपत्रका लागि भने पत्रिकामा समेत सार्वजनिक सूचना निकाल्नु पर्ने उहाँको भनाई छ ।

पासपोर्ट

विदेश जानका लागि पासपोर्ट नभई नहुने कागजात हो । जिल्ला प्रशासनको सहयोगमा परराष्ट्र मन्त्रालयले पासपोर्ट दिने गर्छ । भूकम्पका कारण हराएका व्यक्तिले पासपोर्ट लिनका लागि नयाँ लिए जस्तै गरी फर्म र दस्तुर बुझाउनु पर्छ ।
तर त्यसका लागि पत्रिकामा ३५ दिन अगाडि नै सार्वजनिक सूचना अनिवार्य रुपमा निकाल्नु पर्ने बताउनुहुन्छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल । निवेदनका आधारमा परराष्ट्र मन्त्रालयले सामान्य अवस्थामा जस्तै नयाँ नम्बरसहितको पासपोर्ट उपलब्ध गराउँछ ।

जग्गा धनी पूर्जा

भूकम्पका करण घरमा राखिएको जग्गा धनी प्रमाणपत्र हराउन आम नागरिकका लागि अर्को चिन्ताको विषय हो । यस्ता व्यक्तिले आफ्नो गाविस वा नगरपालिकाबाट घर भत्केको सिफारिस लिनुपर्छ । भक्तपुर मालपोतका प्रमुख मुक्तिप्रसाद आचार्यका अनुसार  सिफारिससहित नागरिकता, दुईप्रति फोटोका साथ निवेदन दिएमा सजिलै लालपूर्जा पाउन सकिन्छ ।
। 

0 comments:

Like us

 

Search

 
Enjoy the site