Monday, May 25, 2015

खुसिको खबर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काम अन्तिम चरणमा

0 comments
      गत माघबाट निर्माण सुरु गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्य काम गर्नुपुर्व आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेको छ ।
आयोजना अगाडि बढाउन विमानस्थल निर्माण क्षेत्रमा आवश्यक आयोजना र ठेकेदार कम्पनी बस्ने भवन, गुणस्तर प्रयोगशाला, कंक्रिट मिक्सिङ प्लान्ट राख्ने काम लगभग पूरा हुन लागेका छन् ।
यसबाहेक अर्को महत्वपूर्ण ठानिएको घाँघरा नदी डाईभर्सन गर्ने काम पनि सँगसँगै अगाडि बढाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका उपनिर्देशक ओम शर्माका अनुसार डिजिटल प्रविधिको कंक्रिट मिक्सिङ प्लाण्टको निर्माण भइसकेको छ ।
यो त्यस्तो प्लाण्ट हो, जसले ढलानको लागि पानी, बालुवा, गिट्टी र सिमेण्टको मात्रालाई मिक्सिङ गर्दा कम्प्युटर प्रविधिमार्फत एकनास र मापदण्ड बमोजिम बनाउने छ । यसबाट थोरै समयमा धेरै र गुणस्तरयुक्त ढलानको लागि मिक्सिङ तयार हुने छ ।
त्यस्तै प्रयोगशालाको काम पनि लगभग सकिएर त्यहींबाट काम सुरु गर्ने तयारी भइरहेको छ । हाल निर्माण स्थलमा प्रयोगशाला नभएका कारण बालुवा, सिमेण्ट लगायत ढलान र कंक्रिट निर्माणका लागि आवश्यक कच्चा पदार्थको गुणस्तर सडक डिभिजन बुटवल र पुल्चोक इन्जिनियरङि कलेज काठमाडौंको ल्याबमा परीक्षण गरिएको छ ।
आयोजना र ठेकेदारले आफू बस्न बनाएको भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ’ठेक्काको काम अगाडि बढाउन आवश्यक पर्ने पुर्व पूर्वाधार निर्माणको लागि कम्तिमा तीन महिना समय लाग्ने अनुमान गरिएको थियो, हाल कामको प्रगति हेर्दा सन्तोषजनकै छ,’ आयोजनाका उपनिर्र्देशक शर्माले भन्नुभयो ।
यी काम ठेकेदारले आयोजनाबाट लिएको ठेक्का मोविलाईजेसन रकमबाट गरिरहेको छ । ठेक्काको २० प्रतिशत रकम आयोजनाले मोविलाईजेसनका लागि ठेकेदारलाई अग्रिम दिनुपर्ने प्रावधान छ ।



त्यही प्रावधानका आधारमा विमानस्थल निर्माणको ठेक्का पाएको चाइनिज कम्पनी नर्थ वेस्टलाई नियम अनुसार धरौटी राखेर ७ दशमलव ५ प्रतिशत रकम भुक्तानी दिइएको आयोजनाका उपनिर्देशक शर्माले बताउनुभयो । ’यसबाहेक ठेकेदारले पाउने नियमित भुक्तानी हाल काम भइरहेको घाघरा नदी फर्काउने काम सकिएपछि पाउने छ । यो नै आयोजनाबाट ठेकेदारले पाउने पहिलो किस्ता हुनेछ,’ शर्माले भन्नुभयो ।
वर्षात् अगावै सम्पन्न गर्ने लक्ष्य लिइएको घाघरा नदी फर्काउने कामको लागि हाल माटो पाट्ने काम ८० प्रतिशतभन्दा बढी सकिएको छ । नदीको सुरुको भाग र बीचमा गरी करिब ३ सय मिटर मात्र माटो पाट्ने काम बाँकी छ । बीचमा बाटो परेकाले त्यसलाई सिफ्ट गरेपछि र सुरुको भागमा भित्रको काम सकिएपछि पाटिने छ । हाल डाईभर्सन गरेर नदी लैजाने भागतर्फ कंक्रिट ब्लक लगाउने र ढलान गर्ने काम भइरहेको छ ।
यो काम सकिएपछि सुरुको भागको माटो पाटेर नदी फर्काइने छ । नदी फर्काई पानी बगाउन बनाइने नयाँ खोलामा अहिले बग्ने पानीभन्दा दोब्बर बढी बग्न सक्ने क्षमताको हुनेछ भने दुबैतर्फ भित्तामा पानीले नकाटोस् भनेर सिमेन्ट कंक्रिटको प्लास्टर र सतहमा पनि कंक्रिटको ढलाई हुनेछ । आयोजनाका अनुसार यो काम वर्षात पूर्व नै सकिने छ । घाघरा नदी फर्काउने काम सकिएपछि रन वे र अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम हुने छ ।
यसको लागि आवश्यक कच्चा पदार्थ जोहो गर्ने काम अहिलेदेखि भइरहेको शर्माले बताउनुभयो । २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार र्दुइ सय २७ रूपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रय विमानस्थलको निर्माण सुरु भएको हो ।

0 comments:

Like us

 

Search

 
Enjoy the site