Sunday, June 14, 2015

१० युवतीलाई केआई नेपालले कृष्णनगरबाट उद्धार गरेको छ

0 comments
३१ जेठ, काठमाडौं । ललाई फकाई भारत लैजान लागिएका १० युवतीलाई चेलिबेटी बेचबिखन विरुद्ध क्रियाशील संस्था केआई नेपालले कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरेको छ । युवतीहरुलाई सीमा कटाएर भारत लैजान खोज्ने २ महिलालाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाइएको छ ।
    उद्धार गरिएका किशोरीहरुमा दाङका ४ जना, कपिलवस्तुका ३ जना, अर्घाखाँचीका २ जना र रुपन्देहीका १ जना छन् । उनीहरुलाई भारत लैजान खोज्ने कपिलवस्तु मनहरीकी २७ वर्षीया उमा गन्दर्भ र पाल्पा दोभानकी २७ वर्षीया बसुन्धरा बगाले प्रहरी नियन्त्रणमा छन् ।
    अभिभावकलाई जानकारी नदिइ भारतका विभिन्न ठाउँमा लैजान लागिएका किशोरीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा फिर्ता गरिएको के.आई. नेपाल कृष्णनगरका संयोजक गद्दुलाल चौधरीले बताए ।
    कपिलवस्तुको कृष्णनगर नाकालाई मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा लिइन्छ । नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभन देखाइ कृष्णनगर लगायतका नाका हुँदै भारतका नयाँदिल्ली, पन्जाब, हरियाणा, इलाहाबाद, सिमला, चण्डिगढ, गोरखपुर, इटवालगायत ठाउँमा लगेर बिक्री गर्ने र यौनधन्दामा लाग्न बाध्य पार्ने गिरोह सक्रिय छ ।
   
मानव बेचबिखनका घटनामा कमी ल्याउन कपिलवस्तुको कृष्णनगरलाई लक्षित गरी केआई नेपालसहित ४ वटा संस्थाले अभियान सञ्चालन गर्दै आएका छन् ।
केआई नेपालले भूकम्पको विपत्तीमा महिला तथा बालिबालिका बेचबिखन हुने जोखिम बढेको भन्दै सीमानाका र क्याबिन रेष्टुरेन्टमा निगरानी पनि बढाएको छ ।

 















0 comments:

Like us

 

Search

 
Enjoy the site