Saturday, July 11, 2015

इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा

0 comments
काठमाडौँ, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।
साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ ।
नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतसँग सङ्क्षिप्त कुरा गर्दै लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताउनुभयो ।
“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु,”– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उहाँले भन्नुभयो ।
घरेलु कामदार, परिचारक÷सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका जानकारी दिँदै उहाँले कामदार चयन पारदर्शी ढङ्गले गरिने स्पष्ट गर्नुभयो ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका जानकारी दिँदै राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गर्नुभयो ।
इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (मसाभ)ले नेपालको मानव संसाधन विकास, चिकित्साशास्त्र,कृषि, स्वास्थ्य, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, सरसफाइलगायत पारस्परिक चासोका धेरै क्षेत्रमा ज्ञान, सीप र प्रविधि आदान प्रदानमा केन्द्रित रहेर आफ्नो देशले नेपाललाई सघाइरहेको बताउँदै उहाँले भूकम्पपछिका यावत चुनौती समाधान गर्न नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्न इजरायल पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उहाँले भन्नुभयो ।
कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उहाँले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।
एक प्रश्नको जवाफमा राजदूत मेयरले नेपाल र नेपालीलाई धेरे क्षेत्रमा ठूलो सहयोगको आवश्यकता रहेको, हजारौँ गाउँ भूकम्पबाट नराम्ररी प्रभावित भएकाले अति प्रभावित ग्रामीण क्षेत्रमा गएर इजरायले नेपाल सरकारसँग मिलेर कृषि, सिँचाइ, पानी प्रविधिको क्षेत्रमा भूकम्पपीडितलाई सघाउने बताउनुभयो । इजरायलमा कृषि तालिम लिएर फर्केकालाई उक्त काममा समावेग गर्ने सोचाइ पनि रहेको उहाँले बताउनुभयो । “ग्रामीण क्षेत्रलाई लक्ष्यित गरेर सञ्चालन गरिने काममा इजरायलका तालिमेलाई समावेश गर्दा सहायता परियोजनाको प्रभावकारिता बढ्नेछ,”– उहाँले भन्नुभयो ।
यसैबीच, नेपाल र इजरायलका राजदूतले दौत्य सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशका अवसरमा संयुक्त वक्तव्य जारी गरी पारस्परिक सम्बन्ध विस्तारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै दुवै मुलुकका सरकार र जनताबीचको सौहाद्र्रपूर्ण मैत्री भविष्यमा अझ घनीभूत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वक्तव्यमा इजरायली राजदूतले विगतमा नेपालले मध्यपूर्व शान्तिप्रक्रियामा शाािन्तसेना परिचालन गरेर ठूलो गुन लगाएको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले इजरायललाई साथ र सहयोग गरेको बताउनुभएको छ ।
नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपी कोइराला र इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेनगुरियन साहसपूर्ण निर्णयको फलस्वरुप १ जुन १९६० मा इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । रासस


0 comments:

Like us

 

Search

 
Enjoy the site