Wednesday, July 1, 2015

इन्डोनेसियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४२ पुग्यो

0 comments
   मेदान (इन्डोनेसिया), १६ असार, इन्डोनेसियाली वायुसेनाको एक विमान मङ्गलबार दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको सङ्ख्या १४२ पुगेको छ । सो विमान उडेको केही समयमै एक प्रमुख नगरमा दुर्घटना भएको थियो । विमान दुर्घटनापछि विस्फोट भएको बताइएको छ ।
    विस्फोटपछिको क्षतिको विवरणअनुसार उक्त नगर क्षेत्रमा कम्तीमा पनि १४२ व्यक्तिको मृत्यु भएको बुधबार जनाइएको छ । मेदान नगरको जनसङ्ख्या करिब २० लाख रहेको छ । उक्त विमानमा करिब १२२ जना व्यक्ति रहेका बताइएको छ । सैनिकका अतिरिक्त उनका आफन्त एवम् परिवारजन पनि सो विमानमा रहेका अनुमान गरिएको छ ।
    तर पनि उक्त विमानमा के कतिजना सैनिक र यात्रु थिए भन्ने कुराको स्पष्ट जानकारी भने सैनिकले दिएको छैन । मेदान सहरमा जहाज खसेकोले उक्त नगरका समेतगरी ती नागरिक मारिएको अनुमान गरिएको छ । उक्त नगरको एक अस्पतालमा लगिएकासमेत गरी मृत्यु हुने व्यक्तिको सङ्ख्या बुधबार बिहानसम्म १४२ जना पुगेको प्रहरीले जनाएको छ ।   
    सुमात्रा द्वीपमा रहेको मेदान नगरको आवासीय क्षेत्रमा हर्कुलस सी–१३० नाम गरेको विमान खसेको थियो । विमान नगरमा खसेपछि त्यहाँका कयौँ भवन भग्नावशेषमा परिणत भएको तथा सवारी साधनहरूमा आगो लागेको बताइएको छ ।
    वायुसेनाका प्रमुख अगस सुप्रियान्ताले उक्त विमानमा ११३ व्यक्ति रहेको बताउनुभयो । उहाँले दुर्घटनामा कोही पनि बाँचेको छ भन्ने आफूलाई विश्वास नलागेको उल्लेख गर्नुभयो । उक्त विमानमा चालक दलका १२ सदस्य र १०१ यात्रु रहेको बताइएको छ ।
   धेरै यात्रु सैनिकका परिवारका सदस्य तथा महिला भएको मेदान वायुसैनिक केन्द्रका एक प्रवक्ताले बताए । उक्त विमान सोही स्थानबाट प्रस्थान गरेको थियो ।  मेदानका स्थानीय वासिन्दाले मध्यान्हमा उक्त विमान खसेको बताएका छन् । मेदानका प्रहरी प्रमुखले घटनास्थलमा शवहरु भवन तथा विमानका भग्नावशेषका कारण क्षतविक्षत भएको देखिएको बताए ।
   उक्त विमान वायुसैनिक केन्द्रबाट मध्यान्ह १२ः०८ मा उडेको थियो । यसको दुई मिनेटपछि नै विमान सोही बजार क्षेत्रमा नै करिब पाँच किलोमिटर पर खसेको थियो ।

0 comments:

Like us

 

Search

 
Enjoy the site