Wednesday, July 22, 2015

बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' नेपाली भाषामा अनुवाद हुदैं

0 comments
बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' अब नेपालीमा पढ्न पाइने भएको छ । यसअघि सम्बोटा लिपिमा उपलब्ध हुदैं आएको दोमाङ त्रियान धर्म संघले नेपाली भाषामा ल्याउन लागेको हो ।

झन्डै १२ सय पृष्ठको दोमाङ अनुवादको कार्य सुरु भइसकेको त्रियानका प्रमुख तथा अनुवादक खेन्पो वागिन्द्रशीलले बताए । उनका अनुसार एक वर्षअघिबाट अनुवाद कार्य थालिएको हो । 'हामीले दोमाङ अनुवाद गर्न एउटा टिम नै बनाएका छौं, झन्डै एकवर्ष भइसक्यो अनुवाद थालेको,' खेन्पो वागिन्द्रशीलले भने, 'तीन खण्ड रहेको किताबको दुई खण्ड अनुवाद सकिसकेको छ ।'

अब आउने दोमाङमा सम्बोटा, फोनाटिक(तिब्बती उच्चरण तर नेपाली अक्षर) र नेपाली भाषासहितको आउने खेन्पोले सुनाए । दोमाङ भगवान बुद्धले रचना गरेको त्रिपिटकको सारंश भएको र हरेक बौद्धमार्गी नेपालीका लागि उपयोगी हुने भएकोले नेपाली भाषामा अनुवाद गर्नु अति आवश्यक देखिएकोले यो कार्ययोजना अघि बढाएको खेन्पोले बताए ।

दोमाङ पाठ गर्दा सम्पूर्ण बुद्धवचन पाठ गरे सरह हुने भएकोले पनि यो सम्पूर्ण बौद्धमार्गीले जान्नुपर्ने उनको धारणा छ । अहिलेसम्म तिब्बतीयन भाषामा रहेको र दोमाङ कमैले मात्र बुझ्ने भएकोले यसको सार जान्न नेपाली भाषामा हुनु अति आवश्यक रहेको खेन्पोको भनाई छ ।

केही बौद्ध ग्रन्थसमेत नेपालीमा अनुवाद गरिसकेका छन् खेन्पोले । त्यसैगरी देशविदेशमा बुद्ध वचन र दर्शनलाई सरल नेपाली भाषामा प्रवचन दिदैं आएका उनी हिन्दु परिवारबाट बौद्धमार्गी बनेका खेन्पो हुन् । उनको वास्तविक नाम नन्दप्रसाद तिमाल्सिना हो । ११ वर्षदेखि बौद्ध धर्मप्रति झुकाव राख्न सुरु गरेका उनी नेपालमा सर्वसाधारण बौद्धमार्गीका लागि बौद्धधर्मसम्बन्धी अध्ययन सामग्रीको अभाव भएको बताउँछन् ।

त्यसैले उनको अध्यक्षतामा एक वर्षअघि देखि नै दोमाङको अनुवाद थालिएको हो । दोमाङ अनुवादका निर्देशक आचार्य झाम्पा लोसाल हुन् भने सहायक निर्देशक गुहेश्वरीराज मानन्धर । तीनजनाले अनुवादको जिम्मा लिएका छन् भने समितिको संयोजकमा ध्रुबबहादुर गुरुङ, सचिव भोजराज लामिछाने र कोषाध्यक्षमा विष्णु थकाली छन् । समितिका संरक्षक शरण नायक श्री शाक्या ट्रिजिन रिन्पोछे हुन् । त्यसैगरी अनुवादक समितिमा लामा कमल भण्डारी, पुष्पमुनि बज्राचार्य पनि छन् । विदेशमा रहेका नेपालीले पनि अनुवादका लागि सहयोग गरिरहेका छन् । त्यसरी सघाउनेमा अमेरिकाबाट बुद्ध मानन्धर, डा अनिता मानन्धर, डा किशोर शेरचन, आङछिरिङ शेर्पा, बेलायतबाट अन्तिम गुरुङ, नरेश गुरुङ, अस्ट्रेलियाबाट निमा ग्याल्चेन शेर्पा छन् । त्यसैगरी तेजप्रसाद गौचन, कान्ति लामा, तुलसिंह गूरुङ पनि यस समितिमा छन् ।

दोमाङ अनुवादमा लागिपरेका छन् गुहेश्वरीराज मानन्धर पनि । पेसाले सिभिल इन्जिनियर मानन्धर ८२ वर्ष पुगे । उनी अनुवादमा पूरा समय दिएर लागेका छन् । भन्छन्, 'म रिटाएर मान्छे, पूरा समय यही अनुवादमा लागेको छु ।' तिब्बतियन भाषामा अरु ग्रन्थहरु पनि अनुवाद गरिसकेका उनी २०४० बाट नै अनुवादा कार्यमा लागेका थिए ।

आफुहरु स्वयंसेवी रुपमा लागिपरेको बताउँदै मानन्धरले दोमाङ नेपाली भाषामा ल्याउन टोलीले अथक प्रयास गरिरहेको बताए । उनले भने, 'प्रायः धेरैजसो हिमाली बुद्धिस्टले बुद्धले भनेको कोर कुरा बुझेकै छैनन्, यसका लागि दोमाङ नेपालीमा आउन जरुरी देखेर हामी लागेका हौं, यसमा हाम्रो समुह भोलन्टियरली लागेको छ ।'

अब एक वर्षभित्रै अनुवाद गरिएको दोमाङ सार्वजनिक गर्ने तयारीमा लागेको छ त्रियान । यसका लागि आउँदो वैशाख पूर्णिमा उपयुक्त हुने खेन्पो वागिन्द्रशीलले बताए । उनले भने, 'हामीले अनुवादित दोमाङ साकादावा पूर्णिमाका दिन टुँडिखेलमा भव्य समारोहबीच सार्वजनिक गरिने योजना गरेका छौं ।'

के छ त दोमाङभित्र ?

खेन्पो वागिन्द्रशील भन्छन्, 'हरेक बौद्धमार्गीले आफ्नो र जगतको भलो होस भनेर हरेक वर्ष दोमाङ पाठ गर्दछन् । यसले लाभ पनि मिल्दछ । चन्द्रपत्रोअनुसार लोसार मनाउनेहरुका लागि यो अति उपयोगी पुस्तक पनि हो । भविष्यमा आउने नराम्रा घटनाबाट बचाउने सुत्रहरु यसभित्र छन् ।' यो भित्र तीन खण्ड छन्, सुत्र, तन्त्र र विविधा छन् । यसको सुरुमै मञ्जुश्रीनामा छ । यसमा आयु कसरी लम्ब्याउने, ब्ल्याक म्याजिकलाई कसरी रोक्ने भन्ने विषय पनि छ । यो सबै विषयलाई ऐतिहासिक व्यक्ति लामा तारानाथले संकलन गरेका हुन् ।

हिमाली बौद्धमार्गीका लागि यो उपयोगी हुने उनको भनाई छ । उनका अनुसार दोमाङ बुद्धवचनको सारंश हो । दोमाङभित्र कसरी जीवनयापन गर्ने भन्ने तरिकाहरु सिकाइएको छ । त्यसैगरी मन्त्रहरु पनि भएको उनले बताए । ती मन्त्रहरु पढ्नका लागि भने विशेष अभिषेक प्राप्तले पढेमात्र फल प्राप्त हुने बताइन्छ । हिमाली बौद्धमार्गीको घरमा दोमाङ राखेको पाइन्छ । यो सबैले राखेको पाइएपनि यसभित्र के छन् भनेर धेरैले थाहा नपाएको कारण यसलाई अनुवाद गर्न लागिएको त्रियानले जनाएको छ ।

सहयोगको खाँचो

प्रसिद्ध र पवित्र ग्रन्थ नेपालीमा अनुवाद गर्नका लागि खर्चको कमी भएको उनले सुनाए । यस अनुवाद अभियानमा अनुवादकहरुले स्वयंसेवी रुपमा अनुवाद गर्दा एकहजार प्रतिका लागिसमेत ५० लाख रुपैयाँ खर्च लाग्ने उनको अनुमान गरिएको छ । 'अहिले हामीले झन्डै ७० प्रतिशत अनुवाद सकाइसकेका छौ, सबैभन्दा धेरै खर्च कागजमा लाग्ने देखियो, ५० लाख नभइ यो काम सकिन्छ जस्तो लागेन,' खेन्पो वागिन्द्रशीलले भने । यसैले यो अभियानको लागि सहयोगको खाँचो रहेको उनले बताए ।

समितिको कोषमा अहिले ९ लाख जम्मा भइसकेको कोषाध्यक्ष विष्णु थकालीले बताइन् । व्यक्तिगत सहयोग आउने क्रम जारी रहेको उनले सुनाइन् । कोषाध्यक्ष थकालीले भनिन्, 'अहिले हामीलाई व्यक्तिगत सहयोग मात्र आएको छ, स्वदेशविदेशका बौद्धमार्गी महानुभावले सहयोग गर्ने क्रम जारी छ ।'

आफुहरुले काम थालेपछि मात्र सहयोग अभियान थाल्ने नीति लिएका कारण अब सबैसामु सहयोगका लागि अनुरोध गर्ने उनले सुनाइन् । १० हजार रुपैयाँ सहयोग गर्ने सहयोगीलाई एक सेट दोमाङ उपलब्ध गराइने र सहयोगीको नाम पुस्तकमा प्रकाशन गर्ने समितिले जनाएको छ । त्यसैगरी ५० हजार सहयोग गर्नेलाई पुस्तक लोकार्पणका दिन रिन्पोछेबाट विशेष अभिषेक तथा सम्मान गरिने समितिले जनाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site