Thursday, July 9, 2015

नुवाकोटमा पैरोको उच्च जोखिमको कारण बस्ति सार्न सेना परिचालन

0 comments
नुवाकोट,असार २४–विनासकारी भुकम्प र वर्षातका कारण पहिरो जान थालेपछि नुवाकोटमा २ हजार पाँच सय घर स्थानान्तरणको तयारीसँगै सरकारले तीन दिनभित्र १२ गाविसका पीडितहरुको पुनर्वास गराउने भएको छ । भूकम्पपीडितको सामाजिक साँस्कृतिक प्रभाव कायम रहने गरी थालिएको स्थानान्तरणका लागि नेपाली सेनासहितको जनशक्ति परिचालन गरिएको छ ।


स्थानान्तरणको लागि प्रत्येक निर्वाचन क्षेत्रका ४–४ गाविस छनौट गरिएको जिल्ला दैवी प्रकोप उद्दार तथा विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिले क्षेत्र नं. १ को चाउथे, तलाखु, कुमरी, महाकाली क्षेत्र नं. २ को घ्याङफेदी, उर्लेनी, लच्याङ र शिखरवेसी, क्षेत्र नंं ३ को किम्ताङ, साल्मे, मनाकामना र फिकुरी गाविसका पीडितहरुलाई स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानान्तरणको लागि सेना, प्रहरी, सशस्त्र प्रहरीको दुई वटा टोली प्रत्येक गाविसमा खटाइएको जानकारी दिए ।

पहिलो चरणमा क्षेत्र नं. १ को चाउथे गाविस वडा नं. १ लामागाउँमा रहेको सात घर, चाउथे गाविस वडा नंं ३ मा रहेको माध्यमिक विद्यालय, सोही गाविसको वडा नं. ३ पात्लेखोलामा रहेको ५१ घर, वडा नं. ७ ढोका भन्ज्याङमा रहेको ३३ घर, वडा नं. ७ मा रहेको माटोलका ११ घर पहिरोले धाजा परेको कारण स्थानान्तरण गरिने भएका छन् ।

यस्तै तलाखु गाविस वडा नं. ६ देवीस्थानमा रहेको एक सय घर, कुमरी गाविस वडा नं. ९ सिरसिरेमा रहेको २२ घर सोही गाविस वडा नं. ९ गोलमा रहेको तीन घर, महाकाली गाविस वडा नं. ६ गारेमा रहेको २५ घर, सोही गाविस वडा नं. ९ न्यौपानेटोलमा रहेको १५ घर, सोही गाविस वडा नंं ६ कल्लेरीमा रहेको २० घर सारिने तयारी अन्तिम चरणमा पुगेको छ ।

उता, क्षेत्र नं. २ को घ्याङफेदी गाविस वडा नं. ३ नेगीखोलामा रहेको ५५ घर, सोही गाविस वडा नं. ३ सोजुलमा रहेको २५ घर, वडा नं. ४ मा रहेको ५० घर, वडा नं. ६ सिउलोलोमा रहेको २५ घर, बोलुङ र घ्याङडाँडामा रहेको २५ घर, वडा नं. ८ मा रहेको ५३ घर, शिखरवेसी गाविसको वडा नं. ३ सिलामेका ९, वडा नं. ७, ८ र ९ का सबै घर , उर्लेनीको वडा नं. १ र २ का सय घर, ३ र ४ का धन्सार र छोलाङगाउँ तथा लच्याङ गाउँ तीन दिनभित्र सारिने भएको छ ।

यस्तै क्षेत्र नं. ३ अन्र्तगत रहेको फिकुरी गाविसको वडा नं. १, ८ र ९ का च्यानेस्वारा र गोगनेका ९७ घर, किम्ताङको वडा नं. ६ को नाडागामका २२ घर, वडा नं. ८ को चुङगाङ टोलका २५ घर, मनाकामना गाविस वडा नंं ७ भांग्रालेको २४ घर, वडा नं. ८ को अर्चलेको २२ घर, साल्मे गाविसको वडा नं. १ देखि ९ सम्मको सम्पूर्ण गाउँ तीन दिनभित्र सार्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्दार समितिले साताअघि गृह मन्त्रालयमा नुवाकोटको दुई हजार चार सय ८९ घरधुरी तत्काल स्थानान्तरणको लागि पायक पर्ने सुरक्षित स्थानमा सार्न सिफारिससहितको प्रस्ताव गरे अनुसार पहिलो चरणमा अति जोखिममा रहेका १२ गाविसका गाउँ सार्ने तयारी भएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको नुवाकोटका अधिकांश ग्रामीण भेग भुकम्प र वर्षातका कारण पहिरोले प्रभावित भएको ठहर गर्दै २ हजार चार सय ८९ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने ठहरसहित गृह मन्त्रालयमा प्रस्ताव पठाएका थियो । प्रजिअ ढकालका अनुसार भएमा सम्वन्धित गाविसको सार्वजनिक जग्गा, नभए सर्वसाधारणको सुरक्षित जग्गा भाडामा लिएर भएपनि जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने भएका छन् ।

खटाइएको सुरक्षाकर्मीको टोलीले पहिरोबाट जोखिममा परेका पीडितका परिवारलाई सुरक्षित स्थान खोजी गरी स्थानीयरुपमा प्राप्त हुने निर्माण सामग्रीको प्रयोग गरी तीन महिनाका लागि अस्थायी शिविर खडा गर्ने छन् । स्थानान्तरण गरेकालाई खानेपानी, स्वास्थ्य, शिक्षा तथा विद्यालयमा पठनपाठनमा सहज हुने वातावरण पहल गरिने र सामाजिक, साँस्कृतिकको सकारात्मक प्रभाव कायम गर्न पहल गर्ने जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिका सचिव राजेन्द्रकुमार केसीले जानकारी दिए ।

उहाँका अनुसार गाउँमा रहेका सार्वजनिक निकायका वन, चौर, चरण क्षेत्र जुनसुकै स्थानमा सारिने र सुरक्षाकर्मीलाई गाउँ विपद व्यवस्थापन समिति तथा गाविस सचिवले सहयोग पु¥याउने निर्णय भएको छ । भुकम्पपीडितहरुको सामाजिक साँस्कृतिक प्रभाव कायम रहने गरी भुकम्पपछि पहिरोको जोखिममा परेका परिवारलाई जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिको निर्णय तथा कार्ययोजना अनुसार जोखिम युक्त गाउँ स्थानान्तरणको लागि खटाइएको सुरक्षाकर्मीको टोली गाउँगाउँमा क्रियाशील रहेको छ ।

समितिका अनुसार दुइपीपलको कालिका माविसहित तीन विद्यालय तत्काल स्थानान्तरण गर्नुपर्ने भएको छ । सम्वन्धित गाविस नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस तथा सरोकारवाला निकायको समन्वयमा गाविसका प्रभावित ती बस्तीहरु तत्काल स्थानान्तरणको कार्य सुरु हुने समितिका सदस्य तथा रेडक्रस नुवाकोटका उपसभापति राजकुमार भट्टराईले जानकारी दिए।

प्रभावितहरुलाई स्थानीयस्तरमा प्राप्त सामग्री ढुंगा, माटो, बाँस, टेन्ट, जस्तापाता प्रयोग गरी प्राविधिकको प्रतिवेदनको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय गरेबमोजिम दैवी प्रकोप उद्दार समितिको कोषबाट रकम व्यहोर्ने समितिले जनाएको छ । तत्काल स्थानान्तरण गरिने दुई हजार चार सय ८९ घर परिवारलाई तीन महिनापछि वर्षात सकिएपछि सम्भव भए पूर्ववत स्थानमा पठाउने सम्भव नभए नेपाल सरकारको निर्देशन अनुसार गरिने निर्णय भएको समितिका अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालले बताए ।



0 comments:

Like us

 

Search

 
Enjoy the site