Sunday, August 23, 2015

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको द्वन्द्व

0 comments
 संघीयतामा कैलाली र कञ्चनपुरलाई आफ्नो पक्षमा पार्ने दाउमा रहेका अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको द्वन्द्व चर्किएको छ।

दुई पक्षबीच हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीको पूर्वी क्षेत्रमा साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले कैलालीको टीकापुर नगरपालिकाका साथै दुर्गौली, पथरैया, धनसिँहपुर, नारायणपुर र मुनुवा गाविसमा निषेधाज्ञा जारी गरेको हो।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि अखण्ड सुदूरपश्चिम पक्षधरले आज टीकापुरमा आयोजना गर्ने भनिएको आमसभा स्थगित भएको छ। स्थानीय प्रशासनले सभा समारोह, र्‍याली लगायतका कुनैपनि कार्य नगर्न उर्दी जारी गरेको छ।

अखण्ड सुदुरपश्चिम र थरुहट पक्षधरबीच हिजो दुर्गौली गाविसको तोरैयापुरमा दोहोरो झडप भएपछि यस क्षेत्रको जनजीवन निकै त्रसित बनेको छ।

सदरमुकाम धनगढीबाट आम सभाको पूर्वसन्ध्यामा सयौंको संख्यामा रहेको मोटरसाइकल र्‍याली निकालिएको थियो।

र्‍याली रोक्नका लागि थरुहट पक्षधरले लम्की टीकापुर सडक खण्डको ठाउँ ठाउँमा बाटो अवरोध गरेका थिए। उनीहरुले सडकमा ढुंगा राख्नुका साथै काँच र फलामका किला समेत बिछ्याएका थिए।

लम्कीबाट विभिन्न ठाउँमा रहेका अवरोध छिचोल्दै अघि बढेको र्‍याली तोरैयापुरमा पुगेर रोकिएको थियो। थरुहट पक्षधरले तोरैयापुरस्थित कुलरीया नदीको पुलमाथि जाली भित्र ढुंगा भरेर अवरोध सिर्जना गरेका थिए।

जाली भित्र भरेको ढुंगा हटाउने क्रममा थरुहट पक्षधरले चारैतिरबाट मोटरसाइकल र्‍याली माथि आक्रमण गरेका थिए। उनीहरुले गुलेली र ढुंगा प्रहार गरेका थिए।

मोटरसाइकल र्‍यालीमाथि आक्रमण भएपछि अखण्ड सुदूरपश्चिम पक्षधरले थारु समुदायका घरमा आक्रमण गरेका थिए। उनीहरुले थारु समुदायका घरमा ढुंगामुडा गरी क्षति पुर्‍याएका थिए।

दोहोरो झडपमा क्रममा दुवै पक्षका २ दर्जन भन्दा बढी व्यक्ति घाईते भएका छन्। चार जना प्रहरी समेत घाईते भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक धनबहादुर कठायतले जानकारी दिएका छन्।

उनले एकजना प्रहरीको अवस्था गम्भीर रहेकाले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगेको बताए।

उता, समाचार संकलनका लागि टीकापुर आउँदै गरेका सुखडस्थित कैलाली एफएमका सञ्चारकर्मी नवराज खनाललाई थरुहट कार्यकर्ताहरुले मुनुवा गाविसको झवहीमा कुटपिट गरेका छन्।

कुटपिटबाट खनालको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको छ।

आफूले प्रेस पास देखाए पनि थरुहटका कार्यकर्ता हुँ भन्दै उनीहरुले आफू माथि आक्रमण गरेको खनालले बताएका छन्।

खनाल माथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम संयोजक प्रकाश विक्रम शाह र बानका सुदूरपश्चिम संयोजक गोविन्द रोस्याराले दोषीलाई कारवाहीको माग गरेका छन्।

निषेधाज्ञा जारी गरेपछि आज टीकापुर बजार पुर्ण रुपमा बन्द रहेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर बजारमा निस्किएका छन्। उता दुर्गौली र पथरैया गाविसमा थरुहट पक्षधरले आफ्नो कब्जामा लिएका छन्।

उनीहरुले गएराति दुर्गौली बजारमा रहेका पहाडी समुदायका घर पसलमा तोडफोड गरेका छन्। दुर्गौली बजारमा रहेको धु्रव सूर्य पेट्रोम पम्प, सञ्ज्याल खाद्य केन्द्र, जयमनकामना टे्रडर्स, सञ्ज्याल टे्रड कन्सर्न लगायतका पसलमा थरुहट पक्षधरले तोडफोड गरेका छन्।

उनीहरुले सञ्ज्याल खाद्य केन्द्रबाट साढे पाँच लाख, जय मनकामना टे्रडर्सबाट ५० हजार नगद र १५ लाख बराबरको सामान समेत लुटेको गंगाराम जैशीले जानकारी दिएका छन्।

अखण्ड सुदूरपश्चिम पक्षधरका आठ वटा मोटरसाइकलमा समेत थरुहट पक्षले आगजनी गरेका छन्।

यता अखण्ड सुदूरपश्चिम पक्षधरले टीकापुर बजारमा रहेको थारु कल्याणकारीको कार्यालयमा आगजनी गरेका छन्। थारु अगुवा लालबिर चौधरीले चलाउदै आएको रानी जमरा कुलरीया सिँचाई आयोजनाको बा १५ ब ७०६ नम्बरको मोटरसाइकल अखण्ड पक्षधरले टीकापुरको अस्पताल रोडमा जलाएका छन्। उनीहरुले निरु ट्रेडर्स लगायत थारु समुदायका पसलमा ढुंगामुडा गरेका छन्।

स्थिति नियन्त्रण बाहिर जानसक्ने भएपछि ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। धनगढीबाट समेत थप प्रहरी परिचालन गरिएको छ।श्रोत साभार :सेतोपाटी भदौ ५

0 comments:

Like us

 

Search

 
Enjoy the site