Sunday, August 23, 2015

नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता

0 comments
काठमाडौं– निर्माणको चर्चा चलेको करिब डेढ दशकपछि नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता सोमबार हुने निश्चित भएको छ।

उक्त सम्झौताका लागि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्य मन्त्री धर्मेन्द्र प्रधानको नेतृत्वमा भारतीय आयल निगम(आइओसी)का अध्यक्ष बि. अशोकसहित ११ सदस्यीय टोली आइतबार काठमाडौं आउने नेपाल आयल निगम(एनओसी)का प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले बताए। नेपालका तर्फबाट सम्झौता कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा नेतृत्वको टोलीले सहभागिता जनाउने उनले जानकारी दिए।

प्रबन्ध निर्देशक खड्काका अनुसार भारतको रक्सौलस्थित पेट्रोलियम डिपोदेखि नेपालको पेट्रोलियम डिपो अमलेखगञ्जसम्म ४१ किलोमिटर पाइपलाइन निर्माणका लागि सम्झौता हुने छ। उक्त पाइपलाइनको ३९ किलोमिटर भाग नेपालमा र २ किलोमिटर भाग भारतीय भूमिमा पर्ने छ।

उक्त पाइपलाइन इन्डियन आयल निगमले अनुदानमा बनाइदिने घोषणा २०७१ साउनमा नेपाल भ्रमणताका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। लोमो समय चर्चामा मात्रै सिमित रहेको उक्त आयोजनाले मोदीको नेपाल भ्रमणपछि मात्रै गति लिएको थियो। त्यसयता उक्त आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार पार्ने काम इन्डियन आयल निगम र नेपाल आयाल निगमका अधिकारी संम्मिलित संयुक्त कार्यदलले गरेको थियो।

अध्ययन प्रतिवेदनले उक्त आयोजना पूरा गर्न करिब ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। यसमध्ये ३ अर्ब २० करोड रुपैयाँ आइओसीले अनुदान स्वरुप उक्त आयोजनाका लागि प्रदान गर्ने र १ अर्ब २० करोड रुपैयाँ एनओसीका तर्फबाट नेपाल सरकारले उक्त आयोजनामा लगानी गर्ने सहमति भएको छ। नेपाल सरकारले आयोजनाका लागि प्रदान गर्ने १ अर्ब २० करोड रुपैयाँ भने अमलेखगञ्जस्थित पेट्रोलिमय डिपोको सुधार तथा स्तरोन्नति कार्यमा लगानी गरिने प्रबन्ध निर्देशक खड्काले बताए।

सम्झौता भएको मितिले पाइपलाइन योजनाका लागि जग्गा अधिग्रहणदेखि आयोजना पूरा गर्ने कार्य ३० महिनाभित्र सक्ने गरी सम्झौता हुन लागेको उनले जानकारी दिए।

पाइपलाइन निर्माण भएपछि पेट्रोलियमको ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिश्रणको समस्या समाधान हुने, तेल ट्याङ्कर हिँड्दा हाल भइरहेको ट्राफिक जामको समस्या समाधान हुनेलगायतका लाभ नेपाललाई हुने आयल निगमको विश्वास छ।

रक्सौल–काठमाडौं पाइपलाइन फास्ट–ट्रयाक भएर

रक्सौलदेखि अमलेखगञ्जसम्मको तेल पाइपलाइन निर्माणको काम सम्पन्न भएपछि दोस्रो चरणमा रक्सौल–काठमाडौं तेल पाइपलाइन निर्माण योजना अघि बढाइने सहमति नेपाल र भारतका अधिकारीहरुबीच यसअघि नै भएको थियो। 'दोस्रो चरणमा पाइपलाईन निर्माण गर्दा नयाँ बनाउने तयारी भइरहेको फास्ट–ट्रयाक(निजगढ–काठमाडौ)को बाटो हुँदै काठमाडौंसम्म ल्याउने बारे हामीले सोचिरहेका छौं,' प्रबन्ध निर्देशक खड्काले भने, 'यो एउटा अवधारणा मात्रै हो। पहिलो आयोजना पूरा भए पनि दुबै देशका अधिकारीहरुबीच छलफल गरेर मात्रै यस अवधारणाअनुसारको पाइपलाईन योजना कार्यान्वयनमा लान सकिन्छ।'

0 comments:

Like us

 

Search

 
Enjoy the site