Wednesday, August 26, 2015

लिम्बुवान स्वायत्त राज्यको माग सम्बोधन नभए अनिश्चितकालिन आमहड्ताल

0 comments

धरान, ९ भदौ । लिम्बुवान स्वायत्त राज्यको माग गर्दै लिम्बुवानवादीहरूले ‘सडक कब्जा’को कार्यक्रम सुरु गरेका छन् । अरूण–सप्तकोशीपूर्व लिम्बुवान राज्य स्थापनाका लागि दबाब दिन लिम्बुवान सङ्घर्ष समितिले कब्जा अभियान थालेका हुन् ।

६ प्रदेशले आफ्ना माग सम्बोधन गर्न नसकेको ठहर गर्दै पूर्वका नौ जिल्लामा लिम्बुवान ‘अकुपाइ’ नाम दिएर अनिश्चितकालिन कार्यक्रमका साथ सडकमा उत्रेको समितिलाई संयोजन गरिरहेका याक्थुङ चुम्लुङका महासचिव प्रेम येक्तेनले बताए ।

उनले सङ्घर्ष समितिमा लिम्बुवानजन्य राजनीतिक पार्टीहरूसहित सामाजिक सङ्घ संस्थाहरू सामेल रहेको जनाए ।

‘पहिलो चरणमा शान्तिपूर्ण तरिकाले लिम्बुवानको सडक कब्जा अभियान थालेका हौं,’ येक्तेनले भने, ‘समयमै माग सम्बोधन नभए अनिश्चितकालिन आमहड्तालसम्मका कार्यक्रम ल्याउने छौं ।’

लिम्बुवानको बाक्लो गतिविधि हुँदै आएको धरानबाट अभियान थालिएको छ । अभियान प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भएर बेलुकी ६ बजेसम्म चल्ने सङ्घर्ष समिति सुनसरीका अमर इजमले बताए ।

उनले भने, ‘अकुपाइ अन्तर्गत प्लेकार्ड, ब्यानर प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमसम्मका हुनेछन् ।’ अभियान चाँडै दमक, इटहरी, उर्लाबारी, बिर्तामोड, इलाम, धनकुटा, म्याङलुङ, फिदिम, फुङलिङसम्म विस्तार हुने चुम्लुङका महासचिव येक्तेनले सुनाए ।

लिम्बुवान आन्दोलनलाई एकीकृत र संयुक्त रूपमा अगाडि लैजान चुम्लुङले भदौ पहिलो साता सङ्घर्ष समिति ब्यँुताएको थियो ।

चुम्लुङले संयोजन गरेको समितिमा सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा–माओवादी, सामाजिक लोकतान्त्रिक पार्टी लगायतका दलहरू छन् ।

त्यस्तै, सम्बद्ध संस्थाका रूपमा लिम्बु विद्यार्थी मञ्च, लिम्बु पत्रकार सङ्घ, फक्ताङलुङ सांस्कृतिक सयङ, लिम्बु युवा मञ्च, किरात याक्थुङ माङगेन्ना चुम्लुङ लगायतका लिम्बुजन्य संस्थाहरू छन् ।

समितिमा लिम्बुवानका थातथलो खुलेका जातिहरूको प्रतिनिधिमूलक संस्था, आदिवासीजन्य सङ्गठनहरू पनि समावेश गर्ने तयारी चलिरहेको येक्तेने बताए ।


0 comments:

Like us

 

Search

 
Enjoy the site