Below slider

Content left

Content right

 

Wednesday, August 5, 2015

स्मार्टकार्ड सवारी चालक लाइसेन्स दशैँ तिहारपछि वितरण गर्ने

0 comments
काठमाडौं , २० श्राबन – यातायात व्यवस्था विभागले आउँदो दशैँ तिहारपछि कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड सवारी चालक लाइसेन्स वितरण गर्ने भएको छ। सो प्रयोजनका लागि ३ वटा अत्याधुनिक मेसिन नेपाल भित्र्याइसकिएको छ। पाँच वटा अाउने प्रक्रियामा छन्।

छपाइको संयन्त्र नेपालमै स्थापना गर्ने ठेक्का पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले ३ वटा प्रिन्टिङ मेसिन नेपाल भित्र्याइसकेको हो।

'३ वटा मेसिन नेपाल अाइसके। अझ ५ वटा प्रिन्टिर ल्याउन बाँकी छ,' विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले नागरिकन्युजसँग भने, 'मंसिरदेखि लाइसेन्सको ठाउँमा स्मार्टकार्ड दिन सुरु गर्छौं।'

स्मार्टकार्डको चिप्समा जन्म मिति, नागरिकता÷राहदानी नम्बर, रक्त समूह, स्थायी ठेगाना, पिताको नाम, लाइसेन्स जारी र खारेज हुने मिति उल्लेख हुनेछ। कुन सवारीका लागि अनुमती पाएको सो पनि कार्डमै उल्लेख हुनेछ। कार्ड रिडरको सहायताले मात्र स्मार्ट लाइसेन्स जाँच गर्न सकिनेछ।

महानिर्देशक बुर्लाकोटीका अनुसार वैशाखबाटै चालक अनुमति पत्रका रुपमा स्मार्ट कार्ड वितरण गर्ने योजना थियो। भूकम्पका कारण कार्ड वितरणमा ढिलो भएको उनले बताए। 'वैशाखबाटै वितरण गर्ने भनेका थियौं। भूकम्पले गर्दा कार्ड वितरणको प्रक्रिया लम्बियो', उनले भने।

नयाँलाई स्मार्टकार्ड वितरण सुरु गरेपछि विभागले पुरानालाई पनि विस्तारै स्माटकार्डमा प्रतिस्थापन गर्दै लाने योजना बनाएको छ। सबैखाले सवारी साधनका लागि देशभर करिब २३ लाख चालक अनुमति पत्र वितरण भएका छन्।

'पुरानो अनुमति पत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने काम एक आर्थिक वर्षमा सकिँदैन,' उनले भने, 'रुपान्तरणको काम सक्न करिब ८ अर्ब रुपैयाँ खर्चिनु पर्ने देखिन्छ। त्यसैले हरेक आर्थिक वर्षमा यसका लागि बजेटको विनियोजन गर्दै लगेर केही वर्षभित्र रुपान्तरणको काम सक्नुपर्ने हुन्छ।'

चालक अनुमतिपत्र स्मार्ट कार्डमा वितरण गर्नुअघि प्रयोगकर्ता र नियामकलाई तालिम दिनु आवश्यक हुनेछ। वितरण गर्नुअघि विभागले प्रयोग गर्ने तरिका तथा विधिबारे चालक, ट्राफिक प्रहरी र यातायात व्यवस्था कर्मचारीलाई तालिम दिने योजना बनाएको छ।

दैनिक १२ घण्टा सञ्चालन गर्दा एउटा प्रिन्टरले ६ सय कार्ड छाप्न सक्छ। यस हिसाबले दैनिक ४ हजार ८ सय कार्ड छपाइको काम गर्न सकिन्छ । भारतीय कम्पनीले कार्ड छपाईको संयन्त्र नेपालमा स्थापना मात्र गरिदने र कार्डमा चालकको विवरण राखेर छाप्ने काम नेपालकै प्राविधिकहरुले गर्ने उनले बताए।

कार्ड छपाइको संन्त्रय स्थापनाका लागि एसियाली विकास बैंक(एडिबी)को सूचना तथा सञ्चार प्रविधि(आइसिटी)अन्तर्गतको कार्यक्रमबाट प्राप्त २३ लाख अमेरिकी डलर अनुदानबाट नै कार्ड छपाईको संयन्त्र स्थापनाको काम भइरहेको महानिर्देशक बुर्लाकोटीले बताए।साभार : नागरिक दैनिक


0 comments:

Like us

 

Search

 
Enjoy the site