Wednesday, September 30, 2015

प्राथमिकताका साथ केरुङ नाका चाँडै सञ्चालनमा आउने

0 comments

आश्विन १३, २०७२- चीनको तिब्बत स्वायत्त प्रदेशले नेपालतर्फ नाका खोल्न गम्भीर रहेको प्रस्ट पार्दै चाँडै केरुङ नाका सञ्चालनमा आउने बताएको छ । दोस्रो चीन–तिब्बत पर्यटन एक्स्पोमा भाग लिन पुगेका राजदूत महेशकुमार मास्केले तिब्बतका जनसरकार प्रमुख लाओसाङ चिङछनलाई भेटी नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै चिनियाँ नाका चाँडै सुचारु गराउन अनुरोध गरेपछि केरुङ नाका खुलाउने काम भइरहेको जवाफ मिलेको हो ।

तातोपानी–खासा नाका खोल्न केही समय लाग्ने भए पनि केरुङ नाका चाँडै खुल्ने आश्वासन पाएको राजदूत मास्केले बताए । ‘केरुङको नेपालपट्टि खासै समस्या छैन, तर तिब्बतपट्टि पहिरोले सडक बिगारेकाले तिब्बत सरकारले अहिले बाटो निर्माणमा व्यस्त रहेको जानकारी हामीलाई दिएको छ,’ उनले भने ।

चिनियाँ पक्षले खासाभन्दा पनि केरुङ नाकालाई प्राथमिकतामा राखेर काम गरिरहेको मास्केले बताए । चीनले ल्हासाबाट सिगात्से पुगेको रेलमार्गलाई पनि भविष्यमा केरुङ पुर्‍याउने लक्ष्य राखेको छ । उसले सिन्धुपाल्चो- कको तातोपानी नजिकको लार्चामा भन्दा अत्याधुनिक सुक्खा बन्दरगाह पनि केरुङमा बनाउने घोषणा गरिसकेको छ ।

वैशाख १२ को महाभूकम्पपछि नेपाल र चीनबीचका मुख्य दुई व्यापारिक नाका बन्द छन् । नेपालसँगको व्यापारिक नाका बन्द भएपछि तिब्बतलाई पनि धेरै आर्थिक घाटा भएको तिब्बत जनसरकारका प्रमुख लाओसाङले बताएको मास्केले जनाए । तिब्बतको मुख्य अन्तर्राष्ट्रिय व्यापार नेपालसँग हुने गर्छ । गत वर्ष सन् २०१४ मा तिब्बतले एक अर्ब ९८ करोड तीन लाख अमेरिकी डलर बराबरको कारोबार गरेको थियो । यो अघिल्लो वर्ष सन् २०१३ को भन्दा १९ प्रतिशतले बढी हो । भूकम्पपछि नाका बन्द हुँदा यो वर्ष तिब्बतको वैदेशिक व्यापारिक आम्दानी घट्ने भन्दै तिब्बतले चिन्ता व्यक्त गरिरहेको छ । त्यसैले पनि उसले चाँडै नेपालसँगको नाका सुचारु गर्न चाहेको राजदूत मास्केले बताए ।

तिब्बतको ल्हासामा गत सोमबार सुरु एक्स्पो मंगलबार सकिएको छ । मेलामा नेपालका ५० स्टल थिए । मेलामा चिनियाँबाहेक नेपालीको मात्र पनि स्टल थिए । चीनले तिब्बतलाई विश्व पर्यटन गन्तव्य बनाउने उद्घोषका साथ मंगलबार ल्हासामा पर्यटन गोष्ठीको गर्‍यो । गोष्ठीमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, क्यानाडा, जर्मनी लगायतका मुलुकका प्रतिनिधि सहभागी थिए । नेपालका तर्फबाट संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा प्रतिनिधिमण्डलले भाग लिएको छ ।

गोष्ठीमा बोल्दै सचिव थपलियाले भूकम्पपछि पनि नेपालको पर्यटन बजार सुरक्षित रहेको उल्लेख गर्दै तिब्बत पुगेका पर्यटकलाई नेपालमा आकर्षित गर्ने र नेपाल आएका पर्यटकलाई तिब्बत घुम्ने वातावरण बनाएर पर्यटकीय आदानप्रदान गर्नुपर्ने बताए । औपचारिक रूपमा पर्यटनसम्बन्धी गोष्ठी भए पनि सबै मुलुकका प्रतिनिधिले नेपालको वर्तमान अवस्था र भारतले लगाएको नाकाबन्दीबारे बढी चर्चा गरेका थिए ।श्रोत :कान्तिपुर 

0 comments:

Like us

 

Search

 
Enjoy the site