Friday, September 18, 2015

सन्तले भावविह्वल हुँदै भने ‘पत्नीलाई गाउँ लान सक्दिनँ’

0 comments
काठमाडौं, असोज १ । बागलुङका सन्त परियार (नाम परिवर्तन) लाई पत्नीले विदेशबाट पैसा कमाएर ल्याएपछि घरपरिवार राम्रोसँग चलाउन सकिएला भन्ने आशा थियो। उनी सुखी जीवनको सपना देख्न थालेका थिए। तर परिस्थिति सोचेभन्दा उल्टो भइदियो।

पैसा त परै जाओस्, पत्नीसमेत पीडामा छट्पटाउँदै आइपुगेपछि सन्तलाई पर्नु पिर परेको छ । भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म लगातार यौनहिंसाको सिकार भएर उनकी पत्नी फर्किएपछि सन्तले समेत गाउँमा आलोचना खेप्नुपरेको छ।

यससम्बन्धी समाचार सार्वजनिक भएसँगै गाउँमा ‘तेरी पत्‍नी यस्ती र उस्ती’ भनेर कुरा काट्न थालेको गुनासो सन्तले पोखेका छन् । यही कारण गाउँमा पत्नीलाई लैजानसक्ने वातावरण नभएको भन्दै उनी बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगे।

‘म पत्नीलाई गाउँ लैजान सक्दिनँ। उनलाई गाउँ लगें भने झन् पीडाको जीवन जिउनुपर्छ। त्यो म चाहन्‍नँ। बरु काठमाडौंमै बस्छौं’, भावविह्वल हुँदै सन्तले सीआईबीका प्रहरी अधिकृतसँग यस्तो भनिरहँदा उनकी पत्नी डाँको छाडेर रोइन्।

आर्थिक अवस्था कमजोर भएका सन्तलाई अब दुई सन्तानलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता पनि थपिएको छ । ‘पत्नीको उपचारको जिम्मा कुनै सामाजिक संस्थाले लिए म काठमाडौंमै ज्यालामजदुरी गरेर भए पनि बच्चाको पालनपोषणमा लाग्न सक्थें’, सन्तले भने।

आफ्नै बुहारी कल्पनाले गरेको सेटिङबाट भारत पुगेकी मोरङकी अर्की ५० वर्षीया महिला र सन्तकी पत्नीले भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म यौनहिंसा खेप्नुपरेको थियो। भारतीय प्रहरीले उद्धार गरी नेपाल फर्काएका उनीहरूमध्ये ५० वर्षीया महिलाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको प्रहरीले जनाएको छ।

सीआईबीकी प्रवक्ता एसपी किरण बज्राचार्यका अनुसार उनी राति बर्बराउने र डराउने गर्छिन्। राम्रो उपचारबिना ती महिलाको स्वास्थ्य अवस्था सामान्य हुने सम्भावना कम छ। प्रहरीले उनीहरूलाई बिक्री गर्ने कल्पनासँगै उनका दाजु जितबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site