Friday, October 2, 2015

पेट्रोल र डिजेलको बिकल्प ब्याट्रीबाट चल्ने लोकप्रिय बन्दै ई–रिक्सा

0 comments

१५ असोज - इन्धन अभावका कारण पेट्रोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला झापामा ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय भएका छन् ।

विगत छ महिनायता मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा ई–रिक्सा चलाउँदै आएका बिर्तामोड–७ का एकराज पोखरेल नाकाबन्दीको असरले तेलगाडी चल्न कम भएपछि ई–रिक्साको कमाइ दोब्बर हुन थालेको बताउँछन्।

तीन दिनदेखि झापाका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको मौज्दात सकिएर बिक्री वितरण बन्द भएको अवस्था छ । इन्धन अभावका कारण राजमार्ग र सहायक सडकहरूमा ई–रिक्साबाहेकका सवारी साधन ह्वात्तै पातलिएका छन् ।

मेचीनगर, भद्रपुर, दमक र सुरुङ्गामा पनि सर्वसाधारणका लागि आवतजावत गर्न ई–रिक्सा नै सहज उपलब्ध भएको छ । यातायात व्यवस्था कार्यालय मेचीले अञ्चलभर भदौ मसान्तसम्ममा ८७४ वटा ई–रिक्सा दर्ता भएको जनाएको छ । दर्ता भएका सबै ई–रिक्सा झापामै सञ्चालित छन् ।

बिजुलीबाट रिचार्ज हुने ब्याट्रीले चल्ने ई–रिक्साहरू इन्धन अभावले डिजेल र पेट्रोल गाडी नचलेका बेला उपयोगी देखिएका छन् । बिजुली र ब्याट्रीबाट चल्ने यातायातका साधनको प्रयोगमा ध्यान पुर्याउन सके पेट्रोलियम पदार्थमाथिको निर्भरता स्वतः घट्ने देखिन्छ ।

पाँचजना यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरको रफ्तारमा गुड्ने ई–रिक्साको बजार मूल्य दुई लाख ४५ हजारसम्म पर्ने गरेको छ। दैनिक  दुई हजारसम्म कमाइ हुने यस्ता ई–रिक्साको ब्याट्री फूल चार्ज गरेपछि ९० किलोमिटरसम्म ढुक्कले गुड्ने गरेको ई–रिक्सा सञ्चालक एकराज पोखरेल बताउँछन्। रासस

0 comments:

Like us

 

Search

 
Enjoy the site