Thursday, July 30, 2015

एक महिलाको बैंक खातामा बिल गेट्सको भन्दा पनि १९ गुणा बढी रकम जम्मा भएको पाएपछि चकित

कानपुर, श्रावण १४ । भारतीय एक महिलाको बैंक खातामा अचानक ९५७ खर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । 

कानपुरकी उर्मिला यादव न कुनै उद्योगपति हुन्, न उनी भारतको सम्पन्नशाली परिवारकै सदस्य हुन् । यत्रो रकम उनको बैंकको खातामा अचानक कसरी जम्मा भयो ? चासो उत्पन्न हुनु स्वाभाविक हो ।

उर्मिला स्वयं आफ्नो खातामा यत्रो रकम जम्मा भएको थाहा पाउँदा चकित भईन् । घरासयी काम गर्ने उनले स्टेट बैंक अफ इन्डियामा एउटा खाता खोलेकी थिइन् । मेहनत, मजदुरीबाट गुजारा चलाएर बचत हुने सानो रकम बैंकमा जम्मा गर्ने र खाँचो परेको समयमा सोही रकमले गर्जो टार्ने उनको योजना थियो ।

उनले केन्द्र सरकारको जन–धन योजना अन्तर्गन कुल दुई हजार रुपैयाँबाट सो बैंकमा खाता खोलेकी थिइन् । तर गत शुक्रबार उनी बैंकमा आफ्नो ब्यालेन्स परीक्षण गर्दा चकित भइन् । उनको खातामा ९,५७,११,६९,८६,४७,१३० रुपैयाँ १४ पैसा ब्यालेन्स देखियो । उनको यो ब्यालेन्स विश्वकै सर्वाधिक धनी व्यक्ति बिल गेट्सको तुलनामा करिब १९ गुणा बढी हो ।

यत्रो रकम आफ्नो खातामा जम्मा भएपछि उनले बैंकका प्रवन्धकसँग यसबारे सम्पर्क गरिन् । छानविनपछि बैंकका कर्मचारीले भूलवस उनको खातामा सो रकम चढाइएको भन्दै गल्ती स्वीकार गरे । अन्ततः उनको खाता फेरि उही दुई हजार रुपैयाँको ब्यालेन्समा सीमित भयो । (एजेन्सी)

Like us

 

Search

 
Enjoy the site