Monday, July 27, 2015

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गर्ने हत्यारा पक्राउ

दाङ : घोराही नगरपालिका वडा नं. ४ चौघेराका ३८ वर्षीय रमेश विकलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।

त्रिपुर नगरपालिका ४ सौंरी घर भई हाल घोराही नगरपालिका ४ मा बस्ने ५६ वर्षीया देवकी विकको हत्या अभियोगमा रमेशलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।


अभियुक्त रमेशले साउन ७ गते राति घोराही नगरपालिका– ४ कृष्णटोलस्थित बहिनी विमला विकको एकतले कच्ची भान्साघरमा देवकीको शिरच्छेदन गरी हत्या गरेको अभियोग लागेको छ।

धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार भएको र दाङकै सतबरिया गाउँ विकास समिति वडा नं. २ कप्तानगञ्जस्थित जंगलमा लुकेको अवस्थामा प्रहरीले रमेशलाई पक्राउ गरेको हो । झोला खानतलासी गर्दा १ थान खुकुरीसहित रमेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही नगरपालिका– ४ का ५० वर्षीय रुपलाल विकको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा प्रहरीले उनलाई खोजी गरिरहेको थियो। अभियुक्त रमेशलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उक्त व्यक्ति मानसिक रोगीजस्तो देखिएको र विगतमा गाडेको लाश निकाल्ने, खसीबाख्रा काट्ने गरी टाउको, मुटुकलेजो, आन्द्रा निकाल्ने र खाने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए। “भर्खरै ल्याएर सोधपुछ गरिरहेका छौं”, उनले थपे, “अलि डराएको जस्तो देखिएको छ । अझै केही खोलेको छैन।”

Like us

 

Search

 
Enjoy the site