Thursday, September 17, 2015

को बन्ला अबको राष्ट्रपति ! एमाले र एमाओवादीले दाबी नगर्ने संकेत

0 comments

काठमाडौँ, ३१ भदौ - संविधानसभाबाट ३ असोजमा नयाँ संविधान जारी हुँदै छ। संविधान जारी भएसँगै नयाँ राष्ट्रपतिसहित प्रधानमन्त्री परिवर्तन प्रक्रिया पनि सुरु हुनेछ।

राष्ट्रपतिको उम्मेदवारको चर्चा भए पनि दलहरुबीच औपचारिक छलफल भने भइसकेको छैन। नयाँ संविधानमा गरिएको व्यवस्थाअनुसार ३ असोजमा संविधान जारी भएको बढीमा एक महिनाभित्र नयाँ राष्ट्रपति चयन हुनेछन्। असन्तुष्ट मधेसीसहितका दल आन्दोलनमा रहेकै अवस्थाबाट राष्ट्रपति सहमतीय आधारमा वा बहुमतीय आधारमा चुनिन्छन् भन्ने टुंगो लागेको छैन।

तर, एमाले र एमाओवादीले भावी राष्ट्रपतिमा कुनै दाबी नगर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन्। राष्ट्रपतिको चर्चामा कांग्रेसमा हालैका राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङ तथा मानबहादुर विश्वकर्मा छन्।

कांग्रेसभित्र हालकै राष्ट्रपति रामवरण यादवलाई नै निरन्तरता दिने विषयमा छलफल हुन थालेको छ। कांग्रेसको संस्थापन र देउवा पक्ष दुवैले मान्ने भएकाले यादवकै सम्भावना रहेको कांग्रेसका एक नेताले दाबी गरे। कांग्रेसमा सभापतिमा संस्थापनबाट कोइराला नै उठ्नुपर्ने र राष्ट्रपतिबाट महाधिवेशनमा कोइरालालाई सहयोग हुने अवस्थामा डा यादव नै दोहोरिने ती नेताको भनाइ छ।

पाँच वर्ष पार्टी सभापति र डेढ वर्षदेखि प्रधानमन्त्री रहेका सुशील कोइराला राष्ट्रपतिका लागि इच्छुक पनि छन्। उमेर र सक्रियताको हिसाबले पनि सुशील राष्ट्रपतिमा जान इच्छुक रहेको उनीनिकट नेता बताउँछन्। प्रधानमन्त्रीको दाबी गर्दै आएको एमालेले राष्ट्रपतिलाई प्राथमिकतामा राखेको छैन। कांग्रेस सभापति सुशील कोइराला एमालेको समर्थनमा प्रधानमन्त्री हुनु एक दिनअघि २६ माघ ०७० मा दुई पार्टीबीच सातबुँदे सहमति भएको थियो। त्यतिबेला संधिवान जारी भएपछिको सरकारको नेतृत्व एमालेलाई दिने भद्र सहमति भएको र अब कार्यान्वयनको अवस्थामा शक्ति सन्तुलन मिलाउन एमालेले राष्ट्रपति दाबी गर्ने सम्भावना छैन।

परिस्थिति फरक ढंगले विकसित भएमा र पार्टीले राष्ट्रपति पाउने भएमा एमालेभित्र चार नेताको नाममा अनौपचारिक कुराकानी हुने गरेको छ। एकपटक अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले र महाधिवेशनमा ओलीसँग भद्र सहमति पनि भएकाले वरिष्ठ नेता झलनाथ खनालको नाम पहिलोे विकल्पका रुपमा लिने गरिएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल पनि एमालेबाट राष्ट्रपतिको उम्मेदवार हुन सक्छन्। एमालेमा राष्ट्रपतिको सम्भावित उम्मेदवारमा महिला भएकाले विद्या भण्डारीको नाम पनि चर्चामा छ। सभामुख सुवास नेम्वाङ पनि राष्ट्रपतिका बलिया सम्भावित उम्मेदवार हुन्। उता, एमाओवादीले राष्ट्रपति पद नलिने अनौपचारिक निर्णय गरेको छ। एमाओवादी अध्यक्ष प्रचण्डले सेरेमोनियल राष्ट्रपति नबन्ने घोषणा गरिसकेका छन्। सत्तासमिकरणमा एमाओवादीको भागमा राष्ट्रपति परेमा भने त्यसमा अमिक शेरचनको नाम चर्चामा छ।
श्रोत साभार : डि.सी.नेपाल

0 comments:

Like us

 

Search

 
Enjoy the site