Thursday, September 17, 2015

नेपालको संविधान २०७२ का सबै धाराहरू पारित

0 comments

संविधानसभाले नेपालको नयाँ संविधान २०७२का सबै ३०८ धाराहरू संशोधनसहित पारित गरेको छ।

अन्यौल र अनिश्चयका बीच आइतबार साँझदेखि शुरु भएको संविधानको विधेयक पारित गर्ने प्रक्रिया चौथो दिन बुधबार साँझ सकिएको हो।

संविधानको धारा १, २ र ३ धारा पारित गर्दै आइतबारको बैठक अन्त्य भएपनि त्यसपछि प्रत्येक दिन धारा पारित गर्ने गतिले तिब्रता लिदै बुधबार मात्रै १ सय २५ वटा भन्दा बढी धारा, अनुसूचि लगायतका प्रावधानहरु पारित भए।

सभामुखले प्रस्तावनामा ५० वटा संशोधन प्रस्ताव दर्ता भएकोमा अधिंकाशले फिर्ता लिए पनि फिर्ता लिन बाँकि प्रस्तावहरु संविधानसभाको बैठकले अस्वीकृत गरेको थियो।

संविधानका थपिएका ६ सहित ३०८ धारा बुधबार पारित भएका हुन्। अब संविधानको पूरै बिधेयकमाथि आजै मत बिभाजन हुने कार्यक्रम रहेको छ।

अन्तरिम संविधानको धारा ७० को व्यवस्था अनुसार संविधानसभामा हाल कायम रहेको सदस्य संख्याको दुईतिहाइ उपस्थित बैठकको दुईतिहाइ बहुमतले प्रत्येक धारा पारित गर्नु पर्ने भएपनि चारदिनसम्मको बैठकमा यो संख्या उल्लेख्य रुपमा रहेको थियो।

५९८ सदस्य रहेको संविधानसभामा केही मधेसवादी दलका सभासद बाहेक बाँकी सबै दलका सदस्यहरु बैठकमा उपस्थित रहेका छन् भने कांग्रेसका प्रदिप गिरी दिल्लीमा रहेको कारण अनुपस्थित रहे।

संविधानको धाराहरु पारित गर्न सदस्य संख्याको दुईतिहाइ उपस्थित संख्याको दुईतिहाइ सदस्यको बहुमत पर्याप्त भएपनि संविधानको एकमुष्ट विधेयक पारित गर्न अपनाइने मतविभाजनमा संविधानको विधेयकको पक्षमा ६ सय १ सदस्यको दुइतिहाइ अर्थात ४ सय १ सदस्यको समर्थन आवश्यक पर्छ। हाल संविधानसभामा कायम रहेको सदस्य संख्या ५९८ मा झण्डै ९१ प्रतिशत भन्दा बढी सदस्य संविधान निर्माण प्रक्रियामा संलग्न रहेका छन्।

राप्रपा नेपालले उक्त मतदानमा विपक्षमा उभिने जानकारी यसअघि नै गरिसकेको छ।

संविधानसभाको दुई तिहाई बहुमतले मत बिभाजनका आधारमा संविधानको बिधेयक पारित गरेपछि संविधान निर्माणको काम सकिनेछ।

त्यसपछि संविधनसभा सचिवालयले संविधानका केही प्रति प्रकाशन गर्ने कार्यक्रम रहेको छ। अनि शुक्रवार बिहानदेखि सभासदहरुले त्यसमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ।

सभासदहरुले आफ्नो नामको वर्णानुक्रम अनुसार संविधानमा हस्ताक्षर गर्नुपर्ने छ। सभासदहरुको हस्ताक्षरपछि नेपालको संविधानलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्ने कार्यक्रम तय भएको छ।

आगामी असोज ३ गते आइतबार साँझ ५ बजे संविधानसभामा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्नेछन्। श्रोत साभार : भदौ ३० सेतोपाटी 

0 comments:

Like us

 

Search

 
Enjoy the site