Monday, May 18, 2015

भुकम्प के हो ? कसरी जान्छ ? विज्ञानले भेटाएका रहस्यहरु

0 comments
करिब ४ अरब ५७ करोड बर्ष पहिले बिभिन्न ग्यास र अन्य पदार्थका ठोस कणहरु बोकेको नेबुला नामक बिशाल बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासिएर गुरुत्वाकर्षणको कारणले भुमरी परी त्यही भुमरीमा घुमिरहँदा बल्ने ग्यासहरू जति एक ठाउँमा जम्मा हुँदैहुँदै एउटा बिशाल आगोको डल्लो बनेको थियो ।  त्यही डल्लो  पछि सूर्यमा परिणत भएको, अनि त्यही डल्लो बन्ने क्रममा अन्य गह्रौं तथा ठोस पदार्थहरु अझै टाढा उछिट्टिएर, तिनीहरु पनि गुरुत्त्वाकर्षणको अर्को घेरामा घुम्दैघुम्दै पृथ्वी लगायतका ग्रहहरु बनेको थियो भन्ने किम्बदन्ती रहिएको छ । यो कुरामा सबै बैज्ञानिकहरु लगभग सहमत छन् । पृथ्वी पनि सुरुमा बिभिन्न धातुलगायतका पदार्थहरु पग्लेर बनेको हजारौं डिग्री तातो भकभकी उम्लिरहेको अर्धतरल बस्तुको नरम डल्लो थियो । यो तरल पदार्थ अझै उम्लिरहँदा गह्रुङ्गा पदार्थको झोल बीचमा पर्दै गयो र अलि हल्का ढुंगा जस्ता पदार्थहरु उक्त डल्लाको बाहिरी सतहमा रहे । करोडौं वर्षको अन्तरालमा बिभिन्न माध्यमले तापक्रम कम हुँदै गयो ।  यसै क्रममा जीवानुकूल वातावरण निर्माण भइ पृथ्वी यस अवस्थामा आइपुगेको विज्ञानको भनाइ छ । अध्ययनका क्रममा पृथ्वीको सतहलाई विभिन्न तहमा वर्गीकरण गरिएको पाइन्छ । पृथ्वीको ५,१०० देखि ६,३७८ किलोमिटरसम्म गहिराइको सतहलाई केन्द्रको भित्री भाग २,९०० देखि ५,१०० किलोमिटरसम्मको गहिराइको सतहलाई केन्द्रको बाहिरी भाग, १०० देखि २,१०० किलोमिटर गहिराइको सतहलाई म्यान्टल अनि म्यान्टलको भित्री सतहलाई एस्थेनोस्फेयर र बाहिरी सतहलाई लिथोस्फेयर भनिन्छ ।  हामीहरु बसोबास गर्ने पाप्रो अथवा धरातल ० देखि १०० किलोमिटरसम्मको  सतह हो ।

भुकम्प विज्ञानका केही प्राविधिक शब्दहरु

भूकम्प विज्ञानको भाषामा टेक्टोनिक प्लेटहरुको सीमामा हुने छिद्रलाई फल्ट लाइन भनिन्छ ।  पृथ्वीको लिथोस्फेयरमा रहेको भूकम्प सुरु हुने बिन्दुलाई फेकस र त्यही फोकसको सिधा माथि पर्ने जमिनलाई इपिसेन्टर भनिन्छ ।  भूकम्प इन्टेन्सिटी, म्याग्निच्युड, सिस्मिक मुभमेन्ट, मुभमेन्ट म्याग्निच्युड आदि बिधि अपनाएर नाप्न सकिन्छ । तथापि आजकाल म्याग्निच्युड बिधि नै बढी प्रचलनमा छ । भुकम्प नाप्ने यन्त्रलाई सिस्मोमिटर  भनिन्छ । यसले पृथ्वीको सतह कति जोडले हल्लेको छ भन्ने मापन गर्दछ । भूकम्पको नाप्ने एकाइलाई रिचर स्केल भनिन्छ । जसले लगरिदमिक इकाइमा मापन गर्दछ । त्यसको अर्थ ६ रिचर स्केलको  भुकम्प ५ रिचर स्केलका भन्दा १० गुणा शक्तिशाली हुन्छ । लामो समयको अन्तरालमा हजारौं बैज्ञानिकको लगनशील अनुसन्धान, मानव निर्मित बिभिन्न मापन यन्त्र, र जी.पी.एस. लगायतका तरिकाको माध्यमले आज हामीले पृथ्वीको बनोट, प्लेटको बनोट, यिनीहरु चल्ने तरिका, भूकम्प आउने कारण, र आउने ठाउँ थाहा पाउन सक्छौं । तर पनि कुन स्तरको भूकम्प, कहाँ र कहिले आउँछ भन्न सक्ने अवस्था भने अझै पनि निर्माण हुन सकेको छैन । तसर्थ हाललाई इतिहासको सबभन्दा विनासकारी भूकम्प आफ्नै ठाउँमा छिटै आउँदै गरेको अनुमान गरी त्यही अनुरुपका सम्भाव्य सुरक्षाका उपायहरु अबलम्बन गर्नु नै मानव मष्तिस्कको सबभन्दा विकसित सोंच ठहर्नेछ ।

भुकम्प जाने प्रक्रिया

पृथ्वीको बाहिरी तह सेलाएको भएता पनि अहिलेसम्म भित्री केन्द्रभागमा सूर्यको सतह जत्तिकै तातो, फलाम लगायतका धातुहरुको, एसिया महादेश जत्रै ठूलो तर चापले गर्दा ठोस बनेको, पदार्थको थुप्रो छ । उक्त केन्द्रमाथि म्यान्टल भनिने हजारौं किलोमिटर बाक्लो तर ३ प्रकारका सतह भएको अर्को चट्टानी सतह छ । म्यान्टलको पनि भित्री केन्द्रसँग जोडिएको तल्लो सतह ठोस रुपमा छ । यसैले छोपेको कारण एकतर्फ केन्द्र भागको तापक्रम अझै अत्यधिक तातै छ भने अर्कोतर्फ म्यान्टलमा रेडियो एक्टिभ युरोनियम पनि मिसिएकोले यही म्यान्टलकै  एस्थेनोस्फेयर  भनिने अलि माथिल्लो सतह तापले पग्लेर तरल अवस्थामा छ । यो तरल अवस्थामा रहेको एस्थेनोस्फेयर भन्दा माथि ठोसरुपमा रहेका १५ वटा बिशाल र अन्य थप्रै ससाना चाक्ला भएको लिथोस्फेयर  भन्ने सतह छ । यी मुख्य प्लेटहरु उत्तर अमेरिकी प्लेट, प्रशान्त प्लेट, दक्षिण अमेरिकी प्लेट, क्यारेवियन प्लेट, युरेरियन प्लेटफिलिपिनी प्लेट, अरेवियन प्लेट, भारतीय प्लेट, अष्टेलियन प्लेट, अफ्रिकन प्लेट, स्कटिया प्लेट, एन्टार्कटिक प्लेट, कोकोस प्लेट, नारुज्का प्लेट आदि हुन् । यी प्लेटहरु एस्थेनोस्फेयरको त्यही तरल अवस्थामा रहेको पदार्थमाथि तैरिरहेका छन् । कतिपय चक्लाहरु पृथ्वीको बाहिरी सतहसम्म आई हाम्रा महादेश्हरुलाई छुट्टयाएका छन् भने कतिपय समुद्र वा महासागर भित्रै रहेका छन् । महादेश छुट्याउने चक्लाहरु ३५ देखि ७० किलोमिटर बाक्ला छन् भने समुद्रभित्र भएका चाक्लाहरु करिब ७ देखि १० किलोमिटर बाक्ला छन् । यी चाक्लाहरु पग्लेको पदार्थमाथि तैरिरहेकै अवस्थामा बिस्तारै तर लगातार यताउता चलिरहेका हुन्छन् ।  यिनीहरुको बीचमा छिद्रहरू पनि छन् अनि एउटाले अर्कोको बिरुद्धमा शक्ति प्रदर्शन अथवा एकआपसमा लडाई गरे सरह एउटा चाक्लाले अर्कोलाई ठेलिरहेको पनि छ । यस लडाइँमा चाक्लाहरु तलमाथि हुन्छन् । कहिले एउटा चाक्लाको अलिकति भाग अर्को चाक्लाको मुनि पर्छ अनि फेरि बाहिर निस्कन कोशिश गर्छ भने कहिले एउटामा अर्को भासिन्छ, अनि कहिले केही क्षणको लागी अलि टाढा भाग्छ, फेरि फर्किन्छ, ठोकिन्छ, चोइटिन्छ । एवम् रीतले ठेलाठेल गर्दाका हरेक गतिबिधिमा चक्लाहरुको बीचमा शक्ति पैदा हुन्छ । उक्त शक्ति कुनै न कुनै रुपले, कतै न कतै गई रित्तिनै पर्ने हुनाले रित्तिने प्रक्रिया मध्येको एउटा प्रक्रिया भूकम्प हो ।

कस्तो भुकम्प कति खतरनाक

लडाइको क्रममा पैदा हुने यस्तो शक्तिलाई भूकम्पीय विज्ञानमा स्ट्रेस भनिन्छ । यो एक प्रकारको छाल वा तरङ्गको रुपमा पृथ्वीका अन्य सतहमा जान्छ । यस्ता छालहरुलाई सिस्मिक वेभ भनिन्छ । चाक्लाहरुको बीचमा त्यति धेरै शक्ति जम्मा हुन नपाउँदै शक्ति निस्किहाल्यो भने त्यसको असर एकदमै कम हुन्छ, तर शक्ति धेरै नै जम्मा भएपछि मात्र निस्क्यो भने जम्मा भएको शक्ति अनुसारको प्रभाव पर्दछ । हुन त यस्तो शक्ति निस्किनुको परिणाम भूकम्प मात्र नभएर ज्वालामुखी निस्कनु, नयाँनयाँ पहाड बन्नु, समुद्रमा गहिरा खाडल पर्नु, नयाँनयाँ टापु देखिनु, जमिन पानीमा डुब्नु, भूभागहरु घट्नु, छुटिनु, बढ्नु आदि जे पनि हुन सक्छ । तर, अहिलेलाई कम प्रभाव पर्नु भनेको सानो र बढी प्रभाव पर्नु भनेको ठूलो भूकम्प आउनु हो भन्ने बुझ्न सकिन्छ । भूकम्पको रुपमा स्ट्रेस रित्तिंदा प्राइमरी, सेकेण्डरी र सर्फेस गरी ३ प्रकारका छालहरु उत्पन्न हुँदै रित्तिन्छ । प्राइमरी वेभहरु एकदम छिटा हुन्छन र ठोस तथा तरल दुवै प्रकारका पदार्थमा बहन सक्छन । अनि पदार्थ हुँदै बहँदा यिनीहरुमा उक्त पदार्थलाई विस्तार अथवा सङकुचन गर्न सक्ने क्षमता हुन्छ । प्राइमरी वेभहरुलाई पछ्याउँदै सेकेण्डरी र  वेभहरु बहन्छन । यिनीहरु तरल पदार्थमा बहन सक्दैनन तर यिनीहरुमा चट्टानी सतहको हरेक दिशामा बहने र फुटाल्ने शक्ति भएका कारण पृथ्वीको माथिल्लो चट्टानी सतहमा बस्ने हामीहरुको लागि बढी खतरनाक हुन्छन् । अझ माथिल्लो सतहमा आइपुगेपछि यिनीहरु झनै शक्तिशाली बन्न सक्छन् । सर्फेस वेभहरु जमिनको बाहिरी सतह नजिक आएपछि उत्पन्न हुन्छन । यी लभ र रेलाई  वेभ गरी दुई प्रकारका हुन्छन् ।  लभ वेभहरु  तेर्सो रुपमा बहन्छन् भने रेलाई भने ठाडो र तेर्सो दुवै रुपमा बहन्छन् ।

भुकम्पको जोखिम बढी हुने क्षेत्रहरु

एकदमै तल अथवा साना स्केलका थुप्रै भूकम्पहरु त हामीले थाहै नपाउने किसिमको हुन्छ । तथापि हाम्रा यन्त्रले थाहा पाउन सक्ने पनि वर्षमा करिब ५ लाख जति भूकम्प जान्छन् । जसमध्ये करिब १ लाख जति त हामीले प्रत्यक्ष अनुभव नै गर्न सक्छौं । पाकिस्तान, इरान, इटाली, ग्रिस, टर्की, पोर्चुगाल, पेरु, ग्वाटेमाला, अलास्का आदि साना भूकम्पहरु गैरहने ठाउँहरु हुन् । भूकम्पको सबभन्दा डर भएका देशहरु क्रमशः जापान, इन्डोनेशिया, अमेरिका, न्युजिल्याण्ड, फिजी, टोङगा, चिली, पपुवा न्यू गिनी, मेक्सिको, सोलोमन आइसल्याण्ड हुन् । यी प्राय क्षेत्र ४० हजार किलोमिटर लामो घोंडाको टाप आकारको प्रशान्त महासागरीय चाक्लासँग जोडिएकोले यही बीचमा बढी भूकम्प आउँछ । हिमालय क्षेत्रको सीमानामा भारतीय, युरेशियन  र अरेबियन प्लेट जोडिएकाले त्यहाँ बिशाल भूकम्प आउन सक्ने सम्भावना बढी रहन्छ ।  पृथ्वीबाट कोइला तेल निकाल्ने, पृथ्वीमा ठूलाठूला पानीका बाँध बाँध्ने जस्ता कार्यले पनि भूकम्पीय जोखिम बढाउँछ । अस्ट्रेलियामा गएका कतिपय भूकम्पहरुले अत्यधिक कोइला निकालेका कारण, र २००८ मा चीनको सिचुआन प्रान्तमा गएको भूकम्प पानीको बिशाल बाँध बाँधेको कारण गएको मानिन्छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site