Monday, May 25, 2015

भारतमा गर्मीले ४ सय ३० भन्दा बढीको मृत्यु, तापक्रम ५० डिग्रीसम्म पुग्यो

0 comments
  •  घरमा बस्न र बढी पानी पिउन सल्लाह, घाममा यात्रा नगर्न र छाता ओढ्न सुझाव


भारतको हैदराबादमा आइतबार छाता ओढेर जाँदै बालकहरु । तस्बिर : एपी/रासस
हैदराबाद (एजेन्सीहरु), जेष्ठ ११ - भारतको विभिन्न ठाउँमा तातोहावाले ४ सय ३० भन्दा बढी को मृत्यु भएको छ । कतिपय क्षेत्रमा तापक्रम ५० डिग्रीसम्म पुगेको छ । केही दिनदेखि त्यहाँ तातो हावा चल्ने क्रम बढेको छ ।

प्रचण्ड गर्मी र लुको सबभन्दा बढी असर तेलंगाना र आन्ध्रप्रदेसमा भएको छ । त्यहाँ शनिबारदेखि अहिलेसम्म १ सय ४० भन्दा बढीको ज्यान गएको छ । समाचार एजेन्सी पीटीआईको अनुसार दुई दिनको अवधिमा तेलंगानामा ५८ र आन्ध्र प्रदेसमा ८७ को ज्यान गइसकेको छ । यो संख्या अझ बढ्ने सम्भावना छ ।

मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र लूको खतरा भएका कामकाजी छन् । लू र पानीको कमीले उनीहरुको ज्यान गएको हो । उत्तरप्रदेसको इलाहाबादमा ४८ र दिल्लीमा ४४ ड्रि्री सेल्सियससम्म तापक्रम पुगेको छ । पश्चिम बंगालको पर्ूर्वी क्षेत्रमा गर्मीले कम्तीमा १० को मृत्यु भएको छ । कोलकात्तामा लूले दुई चालकको मृत्युपछि एयर कन्डिसन नभएको ट्याक्सीहरुलाई दिनको बेला सडकबाट ५ किमी टाढा बस्न भनिएको छ ।

स्थानीय नागरिकलाई घरमा बस्न र बढी पानी पिउने सल्लाह दिइँदैछ । आउँदो केही दिनसम्म गर्मीबाट छुट्कारा पाउँने संभावना कमै भएकोले मौसमविदहरुले भनेका छन् । तातो हावाको कारण अत्यन्त प्रभावित सहर तेलंगाना राज्यमा मारिएकाको तथ्यांक अझै संकलन भइरहेको हुनाले अधिकारीहरुले हताहती बढ्न सक्ने बताएका छन् ।
  
मौसमविदहरुले पनि यो अवस्था अझै केही दिन रहनसक्ने भन्दै खतराको चेतावनीसमेत दिएका छन । केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरु तेलंगाना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको छ ।
  
पछिल्ला दिनहरुमा तेलंगाना र आन्ध्रमा तापक्रम अनायास बढ्न थालेको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तीमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ । आन्ध्र प्रदेशमा मजदुर एवं कामदारहरुलाई धेरै लामो समयसम्म दिउँसोको घाममा काम नगर्न आग्रह गरिएको छ ।
  
उक्त प्रदेशमा मात्रै २ सय ४६ जनाको ज्यान गएको छ । ती सबैको उक्त क्षेत्रमा चलिरहेको तातो हावाका कारण ज्यान गएको पुष्टि स्वास्थ्य अधिकारीहरुले गरेका छन् । मारिनेमा मजदुहरु पनि छन् । उनीहरु लामो समयसम्म दिउँसोको कडा घाममा काम गरेकोले प्रभावित भएका हुन् । स्वास्थ्य अधिकारीहरुले दिउँसोको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिंड्न, पानी प्रशस्त मात्रामा पिउन र चिसो खाद्य पदार्थहरुको सेवन गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०७२ जेष्ठ ११ ०८:५८                                

0 comments:

Like us

 

Search

 
Enjoy the site