Thursday, July 9, 2015

नुवाकोटका सर्वसाधारण जस्ता व्यापारीबाट ठगिदै

0 comments
नुवाकोट, असार २४ – भूकम्पका कारण पीडित नुवाकोटका सर्वसाधारण जस्ता व्यापारीबाट झनै ठगिन थालेका छन् । वर्षायाम लागेकोले अस्थायी टहरो निर्माणका लागी भूकम्प पीडितहरुले बजारमा जस्तापाता खरिद गर्न जाँदा बढी मूल्य तिर्न बाध्य भएका छन् । व्यापारीहरुले कम गुणस्तरको जस्ता उच्च गुणस्तरको भनेर कालोबजारी गर्दै आएको रहस्यसमेत खुलेको छ । घर भत्केपछि अस्थायी टहरा तथा घर निर्माणमा जस्तापाताको माग बढीरहँदा बजारमा भने ग्राहक व्यवसायीबाट चर्को मूल्यमा ठगिँदासमेत स्थानीय प्रशासनले त्यसलाई नियन्त्रण गर्न चासो देखाएको छैन । जस्तापाता खरिद बिक्रीमा अनिवार्य भ्याट विल काटिनु पर्नेमा व्यापारीहरु सामान्य रुपको ईष्टमेट बिल प्रयोग गरी व्यवसायी राज्यको कर समेत छली गर्दै आएका छन् । अहिले बजारमा एक बण्डल जस्तापाताको पाँच हजार ७ सय पर्ने हुलास जस्तापाताको मूल्य ६ हजार पाँचसयदेखि ७ हजारसम्म तिर्न बाध्य हुनुपरेको ग्राहकहरुले बताउन थालेका छन् । सरकारी राहतको प्रतीक्षा नगरी आफैं जस्तापाता खरिद गरी टहरा निर्माणमा लागेका भूकम्प पीडित भने उच्च गुणस्तरका नाममा कम गुणस्तरको जस्ता घरमा लगेर व्यवसायीबाट ठगिँदै आएका छन् । ‘ग्राहकको माग एउटा गुणस्तरको हुन्छ, देउरालीका कान्छा तामाङ भन्छन्– ‘व्यवसायी सस्तो भन्दै अर्कै गुणस्तरको जवर्जस्ती भिडाउँछन् ।’ हुलास र आरती जस्तापाता कम्पनीले जिल्लामा अधिकृत बिक्रेता तोकेर आफ्नो मूल्यसुची अनुसार जस्ता बिक्री गरिरहेपनि अन्य ब्राण्डका जस्तापातामा व्यवसायीहरुले आफूखुशी मूल्य राखेर जस्तापाता बिक्री गर्दै आएका छन् । बजारमा जस्तापाताको माग धान्न नसकेको समयको फाइदा उठाउँदै व्यवसायीले बि ग्रेडको जस्तालाई ए ग्रेडको मूल्यमा बिक्री गर्दै आएका छन् । ए ग्रेडको जस्ता मागेका ग्राहकलाई बजारमा व्यापारीबाट बि ग्रेडको जस्तापाता उपलव्ध गराइन्छ । झट्ट हेर्दा ए को तुलनामा बि ग्रेटको सामानमा केही सस्तो देखिएपनि गुणस्तरको हिसावले ग्राहकहरु ए ग्रेडको भएको लोभ पाल्दै उल्टै प्रतिकेजी ६० रुपैयाँ सम्म ठगिएका छन् । जिल्लामा वर्षौ देखि व्यवसाय गर्दै आएका व्यवसायीहरुले बजार मुल्य र गुणस्तरियतामा विश्वसनियता, टिकाउ तथा दीर्घकालीन अवस्थाको ख्याल गरेपनि बाहिरबाट आएका व्यवसायीबाट ग्राहक ठगिने गरेका छन् । संघले विषय उठान गरेपनि नियन्त्रण गर्ने विषयमा भने कुनै निर्णय भने गर्न सकेको छैन् । जिल्लामा कम्पनीको आधिकारीक डिपो, अधिकृत विक्रेता समेत गरि एक दर्जनको हाराहारीमा व्यवसायीले हुलास, आरती र आरएमसीका जस्तापाता विक्री गर्दै आएका छन् । हार्डवयर व्यवासायी संघका अनुसार नुवाकोटको विदुर, वट्टार, त्रिशूली, कोलोनी, देवीघाट, वेत्रावति, ढिकुरेलगायतका वजारमा दैनिक ६ सय वण्डल जस्तापाता विक्रि भइरहेको छ । यस विषयमा कुनै अनुगमन हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रवहादुर पण्डितले बताए । जस्तापातामा अधिकृत र डिपो बाहेकका खुद्रा विक्रेताले कम्पनीको खरिद मूल्यमा लोड, अनलोड र भाडा जोडेर ५ प्रतिशत बढी मूल्यमा विक्री अनुमति दिएको दावी गर्दै सोही अनुसार जस्तापाता विक्री भइरहेको दावी व्यवसायीहरुले गरेका छन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site