९ असार,काठमाडौं - खेलमा जितहार स्वाभाविक हुन्छ। नेपाली तेक्वान्दोमा २०४० को दशकमा यस्ता अस्वाभाविक पात्र जन्मिए, जसले तेक्वान्दो रिङमा कहिल्यै हार्न जानेनन्।
नुवाकोटको चण्डेश्वरी स्कुलमा बडादसैं फूलपाती विशेष कार्यक्रम हँदै थियो । तेक्वान्दोको प्रदर्शनी खेल देखाउन नेपालका चर्चित ओलम्पियन खेलाडी विधान लामा र मानबहादुर लामा त्यहाँ पुगेका थिए। स्कुलस्तरमा फुटबल र तेक्वान्दो खेलको कला सिक्दै गरेको स्थानीय ठिटो महेन्द्र तामाङ (शंकर) लाई विधान र मानबहादुरको एक्सन फाइटले मोहित तुल्याएछ।
‘विधान गुरु त्यतिबेलाका प्रख्यात खेलाडी हुनुहुन्थ्यो। उहाँको एक्सन देखेर म नजिक गएँ। मैले पनि उस्तै एक्सन देखाउन थाले। सायद मेरो एक्सनले उहाँलाई छोएछ। उहाँले मेरो नाम सोध्नुभो, मैले शंकर भने। काठमाडौं आऊ भन्दै उहाँ हिँड्नुभयो।
म केही दिनमै काठमाडौं आएँ र विधान गुरुलाई भेटें। उहाँले मलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह र कोरियन प्रशिक्षक मिस्टर ओसँग भेट गराईदिनु भयो। विधान गुरुकै कारण तेक्वान्दोमा तानिए', शंकरले अन्नपूर्ण पोस्ट्सँग भने।
प्रवेशिका परीक्षा सकेर पहेँलो पेटी लिन काठमाडौं आएका शंकरको जोसिलो सट देखेर शरदचन्द्र शाह र कोरियन प्रशिक्षक ओ त्यतिबेला छक्कै परेका थिए रे। त्यतीबेला मलेसियामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको छनोट खेल चलिरहेको थियो। छनोट खेलमा शंकरले कालोपेटीका खेलाडीलाई हराए।
काठमाडौं आएको तीन महिनामै मलेसियाका लागि उनी छनोट भए। शरदचन्द्रको प्रयासमा सुरुमै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गराइएका शंकर पहेँलो पेटीका खेलाडी हुनाले मलेसिया लैजान प्रशिक्षक ओलाई गाह्रो भएछ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कालो पेटी लिएको हुनुपर्ने नियम रहेछ। त्यसपछि शरदचन्द्र, प्रशिक्षक ओ र दीपराज गुरुङले तत्कालै बैठक बसेर शंकरलाई एकैपटक कालो पेटी दिने निर्णय गरेर मलेसिया पठाए।
मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए। ‘अन्तिम खेलमा पनि मैले राम्रो खेलेको थिएँ। तर म माथि धाँधली भएको रहेछ। पछि थाहा पाएँ, कोरियाकै अफिसियलले मैले राम्रो खेलेको भन्दै पाँच सय अमेरिकी डलर दिएका थिए। त्यतिबेला त्यो पैसा धेरै ठूलो हो', शंकर भन्छन्।
हेर्दै जिउँदो बाघ समाउँलान् जस्ता शंकरले विशेषगरी सदस्यसचिव र प्रशिक्षक ओको मन जितिसकेका थिए। मलेसियाबाट फर्किएपछि उनलाई फेरि पहेँलो पेटीबाट कालोपेटीसम्मको तयारी गराइयो। कोर्स पूरा गर्नका लागि उक्त तयारी गराइएको थियो।
शंकरको खेलले त्यतिबेला धेरैको मन पनि जित्यो। उनी नेपाली तेक्वान्दोका नयाँ स्टार भए। २०४२ सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका शंकरले त्यसपछि पछाडि फर्केर हेर्नु परेन।
विधानले काठमाडौं बोलाएका शंकरले पछि विधानलाई नै छक्क पार्न थाले। दुईदुई वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बीचमा रोकियो। तर संघको आयोजनामा हुने राष्ट्रिय प्रतियोगितामा शंकर सँधै पहिलो भए।
मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए।
२०५२ सालसम्म उनी लगातार १० पटक राष्ट्रिय च्याम्पियन बने। तेक्वान्दोमा उनले राष्ट्रिय स्तरमा पाएको सफलता अन्य खेलाडीको कमै छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भएर खेलेका शंकर आर्मीको प्रशिक्षकसमेत बने।
‘त्यतिबेला दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) भए पनि तेक्वान्दो खेल समावेश नहुनु मेरो लागि दुर्भाग्य भयो। साफबाहेक एसिएन च्याम्पियनसिप र अन्य अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा धेरै पदक जितेँ।
मलाई ओलम्पिक खेलाउने तयारी भइरहेको थियो। शरदचन्द्रले पहिलेदेखि नै तेक्वान्दोमा विधानपछि तिमी नै हौ भन्नुहुन्थो। सोहीअनुसार तयारी गर्दै अगाडि बढेको थिएँ। तर ओलम्पिक खेल्ने बेलामा मेरो बाटो मोडियो', शंकरले भने।
२०५२ सालमा भारतमै अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो च्याम्पियनसिप भएको थियो । ६६ देशका खेलाडी सहभागी उक्त च्याम्पियनसिपमा राष्ट्रिय च्याम्पियनका हिसाबले छनोट भएका शंकरले त्यहाँ पनि स्वर्ण नै जितेका थिए। त्यही बर्ष जापानमा एसियन च्याम्पियनसिप थियो।
त्यहाँ भने उनको स्थानमा नवीनकुमार श्रेष्ठलाई लैजाने निर्णय भएछ। पहिलो खेलाडीलाई नलगेर दोस्रो खेलाडीलाई लैजाने निर्णयबाट विरक्तिएका शंकरले त्यसपछि तेक्वान्दोबाट टाढिने सोच बनाए।
एक दशक तेक्वान्दोमा राज गरेका शंकरले एकाएक तेक्वान्दोको रिङबाट हात झिको। रिङबाट उनी हराउनुको एउटै कारण थियो, पारिवारिक र आर्थिक समस्या।
त्यहीबेला नेपालमा यूएई अबुधाबी पुलिसको कमान्डोमा भर्तीका लागि नेपाली युवा छनोट गर्न अबुधाबी पुलिसको टोली नेपाल आएको थियो। छनोटका लागि आवेदन दिएका ५० जनामध्ये शंकरले एक नम्बरमा नाम निकाले।
अबुधाबी पुलिसको कमान्डो ट्रेनिङमा पनि उनी एक सय ८७ जनामा दोस्रो भए । ट्रेनिङपछि यूएईका राजा सेख जाईदले कमान्डो पुलिसको स्वागतका लागि रात्रिभोजको आयोजना गरेका थिए।
भोजमा तेक्वान्दोको प्रदर्शनी खेल देखाउने मौका पाएका शंकर त्यहीबेला राजाको नजरमा परे। शंकरको तेक्वान्दो कला मनपराएर तत्काल राजाले हाफ्नै हातको घडी फुकालेर शंकरलाई उपहार दिएका थिए।
भोलिपल्टै भेटका लागि दरबार बोलाइएका शंकर त्यसपछि राजपरिवारको सुरक्षा कमान्डमा खटिए। राजपरिवारका सदस्यलाई तेक्वान्दो सिकाउने मौका पनि पाए। अबुधाबी पुलिसबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्ने अवसर पाएका उनी त्यहाँ पनि दुई पटक च्याम्पियन बने।
सन् १९९९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको जहाज अपहरण भएको थियो । अपहरणकारीले उक्त जहाज यूएईको विमानस्थल पुर्याएका थिए। उक्त जहाजलाई अपरेसन गरेर मुक्त बनाउने काम उनै शंकरको काँधमा आइपर्यो।
शंकरको कमान्डमा रहेको टोली जहाजको दायाँतर्फको झ्याल फुटाएर एक्सन सुट गर्न फिल्डमा उत्रिएको थियो। सुट गर्नै लाग्दा अपहरणकारीले फेरि विमान उडाए । यदि त्यहाँ अपहरणकारीलाई सुट गर्न पाएको भए एउटा नेपालीको नाम छुट्टै हुन्थ्यो', शंकर भन्छन्। नेपालका
तेक्वान्दोका चर्चित खेलाडी शंकरलाई यूएई आर्मीको कमान्डो जागिर राम्रो थियो। 'उमेर ढल्कँदै जाँदा जन्मथलो र परिवारको मायाले सताउने रहेछ। विदेशमा मात्र कति बस्नु जस्तो लाग्यो। कुनै क्षेत्रमा नाम कमाएपछि त्यसलाई बिर्सन गाह्रो हुने।
मलाई तेक्वान्दोको लत उत्तिाकै लागेको छ। अब आफ्नै सानातिनो व्यवसाय गरेर स्वदेशमा बस्नेछु। तेक्वान्दोलाई लक्षित गरी केही गर्ने सोच छ', ४७ वर्षीय शंकरले भने। तेक्वान्दोका पाँचौं डान उनलाई विधान लामाको नाम ओलम्पियनको रूपमा सदाबहार छाउँदा आफू ओलम्पियन बन्न नपाएको पीडाले भने चिमोटि रहन्छ रे।
शंकर पहेँलो पेटीका खेलाडी हुनाले मलेसिया लैजान प्रशिक्षक ओलाई गाह्रो भएछ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कालो पेटी लिएको हुनुपर्ने नियम रहेछ। त्यसपछि शरदचन्द्र शाह, प्रशिक्षक ओ र दीपराज गुरुङले तत्कालै बैठक बसेर शंकरलाई एकैपटक कालो पेटी दिने निर्णय गरेर मलेसिया पठाए।
मलेसियामा उनले सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीलाई नकआउट गरे। चौथो खेलमा उनी कोरियाका खेलाडीसँग पराजित भए। आजको अन्नपूर्ण पोस्टबाट साभार